ढुङ्गा काटेर टायल उत्पादन

राेल्पा अनलाइन Thursday, October 1, 2020

रोल्पा । जिल्लामा प्रशस्तै पाइने ढुङ्गाबाट गुणस्तरीय टायल उत्पादन सुरु भएको छ । रोल्पाको त्रिवेणी र माडी गाउँपालिकाको विभिन्न ठाउँमा व्यक्तिको जग्गामा पाइने ढुङ्गा निकाली काटेर टायल उत्पादन सुरु भएको हो ।

टायल उत्पादन हुन थालेपछि जिल्लामा त्यत्तिकै खेर गइरहेको ढुङ्गाको सदुपयोग हुन थालेको छ । स्थानीयको जग्गामा रहेको ढुङ्गा खानीलाई किनेर उद्योग सञ्चालन गरेपछि अहिले दाङ नेपालगञ्जसम्म टायल निर्यात हुने गरेको छ । करिब ८ लाखको लगानीमा ढुङ्गा काट्ने मेसिन ल्याएर उद्योग सञ्चालन गरेको उद्योगका सञ्चालक जनक वलीले जानकारी दिनुभयो । उद्योग सञ्चालन भएपछि आफूहरुले रोजगारी पाएको त्रिवेणी गाउँपालिका–७ बजिबाङका स्थानीय खुमबहादुर डाँगीले बताउनुभयो । खानीबाट ढुङ्गा निकाल्ने ४ जना र ढुङ्गा काट्ने २ जना गरी ६ जनाले रोजगारी पाएका छन् ।

ढुङ्गा खानीबाट ढुङ्गा निकाल्दा प्रति ट्रयाक्टर ६ हजार र ढुङ्गा काट्नेहरुलाई प्रति ढुङ्गा ४ रुपैयाँका दरले पारिश्रमिक पाउने गरेका छन् । टाइल उत्पादन गर्ने उद्योगलाई थप व्यवस्थित गर्न सके स्थानीयलाई थप रोजगारी र आम्दानीको स्रोत बन्न सक्ने देखिन्छ ।

 136 total views,  2 views today