विपन्नको घरमा लगाउनुपर्ने जस्तापाता वडा सदस्यको बारीमा

राेल्पा अनलाइन Thursday, September 24, 2020

रोल्पा, असोज ८ । रोल्पा नगरपालिका–३ का एक जना वडा सदस्यले विपन्न परिवारको घरमा लगाउने भनेर नगरपालिकाबाट लगेको जस्तापाता आफ्नो बारीमा राखेका छन् ।


रोल्पा नगरपालिका ३ का वडा सदस्य अमृत थापा क्षेत्रीले स्थानीय कुमार घर्तीको खरको छाना भएको घरमा लगाउने भनेर नगरपालिकाबाट अनुदानमा वितरण भएको जस्तापाता बारीमा बेवारिसे रुपमा राखेको छिमेकीहरुले बताएका छन् । नगरपालिकाले घरको छाना मुक्त गर्ने कार्यक्रम अन्तर्गत गत वर्ष उक्त वडामा वडाकै सिफारिसमा ५ घरधुरीलाई जस्तापाता वितरण गरेको थियो । गत वर्ष वितरण भएका अन्य ४ घरमा भने जस्तापाता लगाइसकिएको छ । वडा सदस्य थापाले उक्त विपन्न परिवारको घर भत्कीएकाले अब नयाँ घर बनाएर लगाइदिने तयारी भइरहेको बताउनुभयो । ‘आमा बुवाको नै मृत्यु भएका कारण अभिभावक विहिन बनेका कुमार र मिलन दुईभाई मेरो घरमा बस्दै आएका छन्’ थापाने भन्नुभयो ‘मेरो मामाको छोराहरु भएकाले अब मैले नै घर बनाइदिने सोचिरहेको छु ।’

यता नगर प्रमुख पूर्ण केसीले उक्त जस्तापता तत्काल प्रयोगमा आउने बताउनुभएको छ । ‘यदि उक्त परिवारको घर तत्काल बन्ने अवस्था नभए अर्काे विपन्न परिवारलाई दिनुपर्छ’ केसीले भन्नुभयो ‘वडाले निर्णय गरेर अर्काे विपन्न परिवारलाई दिन सकिन्छ ।’

रोल्पा नगरपालिकाले खरको छाना मुक्त गर्ने कार्यक्रम अन्तर्गत हरेक वर्ष एउटा वडामा ५ देखि १० वटा खरको छाना भएका घर परिवारलाई जस्तापाता वितरण गर्दै आएको छ ।

 1,065 total views,  2 views today