आज विश्वकर्मा पुजा आजै लामो दूरीका गाडी सञ्चालन

राेल्पा अनलाइन Thursday, September 17, 2020

रोल्पा । आज विश्वकर्मा पुजा कलकारखाना तथा औजार रंगीचंगी पार्नुका साथै विशेष पूजा गरिएको छ ।
आश्विन सङ्क्रान्तिका दिन आजका दिन फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने विश्वास छ । विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने चलन रहेको छ । विश्वकर्मा पूजाको अवसरमा वर्षभरी कुनै अप्रिय घटना नहोस् भनेर मेसिन तथा औजारहरुको पूजा गर्ने चलन छ ।

देशका विभिन्न भागमा रहेका मजदुरहरुले ध्वजापातकाले कलकारखाना, यातायात लगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्माको मूर्ति वा तस्बिरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् । झण्डै ६ महिनापछि आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्दैछन् । आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् । आजको दिनलाई वास्तुशास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

यसैबीच गत चैतदेखि बन्द भएको लामो दूरीको बस सेवा आजदेखि सञ्चालनमा आएका छन् ।


सरकारले आज देखि देशभर लामोदूरीको गाडी सञ्चालन गर्ने निर्णय गरेसँगै व्यवसायीहरुले पनि गाडी सडकमा झारेका हुन् । आजै विश्वकर्मा पुजा भएकाले सबै सवारी साधनको पुजापाठ गरी गाडी सञ्चालनमा आएका छन् ।

रोल्पाबाट काठ्माण्डौं, नेपालगञ्ज, बुटवल, दाङका लागि नाइट बस सेवा आजदेखि सञ्चालन हुन लागेको रोल्पा जलजला यातायात प्रालिका प्रशासनीक इन्चार्ज यज्ञश्वर आचार्यले बताउनुभयो । सरकारले भनेबमोजिम सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी गाडी सञ्चालन गरिएको यातायात व्यवसायीहरुको भनाई छ ।

एउटा सिटमा १ जना यात्रु, सेनिटाइजर र मास्कको प्रयोग गरी गाडी सञ्चालन गरेको गाडी चालकहरुको भनाई छ ।

 91 total views,  1 views today