लूटपाट गर्ने व्यक्ति पक्राउ

Friday, September 11, 2020


रोल्पा, भदौ २६ । रोल्पाको रुइनिबाङमा पैसा लूटपाटमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनिलस्मृती गाउँपालिका–३ रुइनिबाङस्थित आईएमईबाट पैसा निकाली पसलमा सामान किन्नेक्रममा लुंग्री गाउँपालिका–२ सिर्पकी ४० वर्षीया तिरमा पुनको एक लाख १८ हजार रकम लूटपाट गर्ने लुंग्री गाउँपालिका–५ बुझिङका १८ वर्षका शिवे रोका क्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रीमानले साउदीबाट पठाएको रकम निकाली सामान किन्ने क्रममा लूटपाट भएको हो । रकम लूटपाट भएको प्रहरीलाई जानकारी गराए पश्चात प्रहरी परिचालन गरी सीसी टिभिको फुटेजका आधारमा तत्काल पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताउनुभयो ।
उक्त व्यक्तिलाई सुलिचौर बजारबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय सुलिचौरमा लगी खोजतलास गर्दा उसको साथबाट एक लाख १६ हजार ६ सय ५० रुपैयाँ बरामद गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 791 total views,  1 views today