किन घटेन रोल्पामा बाल विवाह !

बलबहादुर घर्तीमगर Sunday, August 25, 2019

विविध चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिएपनि रोल्पामा बालविवाहमा कमि नआएको स्थानीय अखबारहरुमा प्रकाशित भएको पढ्न पाइयो । न्युनिकरण अभियानको प्रभाव देखिनु पर्ने हो तर साँच्चै नदेखिएको हो भने कार्यक्रमको योजना र कार्यान्वयनमा त्रुति भएको हुनु पर्छ ।

धेरै जसो कार्यक्रमहरु काठमाण्डौमा तयार हुन्छन् र त्यही छलफल गरी अन्तिम पारिएको फर्म्याटमा अन्य स्थानीय समुदायमा कार्यक्रम सञ्चालन गरिन्छन् । साँच्चै भन्ने हो भने नेपालको विभिन्न विकासे कार्यक्रमहरुको ग्याप यहीनेर छ ।

नेपाल विविधता भएको समाज हो । यहाँ १२५ जातजाति छन् भने १२३ भाषाभाषी । धर्म भूगोल अनि सांस्कृतिक हिसाबले पनि त्यत्तिकै विविधता । भिन्न समुदायमा भिन्न सामाजिक मूल्य मान्यताहरु स्थापित गरिएका हुन्छन् । हरेक सम्प्रदायको आआफ्नै परम्परा र कस्टमरी ल हुन्छन् । अनि हरेक विषयको भिन्न मूल्य पनि । जस्तो विवाहको सन्दर्भमा पनि फरक फरक समुदायमा फरक मान्यताहरु हुन्छन् ।

बलबहादुर घर्तीमगर

बाहुन र मगर समाजले विवाहलाई हेर्ने दृष्टिकोण विल्कूल भिन्न हुन्छ । बाहुन समाजको अध्ययन गरी तयार पारिएको बालविवाह न्युनिकरणका चेतनामूलक कार्यक्रमले मगर समाजमा काम नगर्न सक्छ । मगर समाजमा बालविवाह न्युनिकरण गर्न पहिले मगर समाजको अध्ययन जरुरी हुन्छ ।

मगर समाजले विवाहलाई कसरी लिन्छ ?  पहिलो प्रश्न यहाँबाट शुरु गर्नु पर्छ । छोरा अनि बुहारीबाट के अपेक्षा गरिन्छ ? यसले समाजका कस्ता आवश्यताहरु पुरा गरिरहेको छ । के बालविवाह समाजको समस्या नै हो ?  विवाह नगरे के हुन्छ ? परिवर्तित अवस्थामा देखिएका विविध आयामहरुको दिशा के कस्तो छ ?

विवाह समाजको एउटा एकाई हो । समग्र समाजको निर्माणमा विवाहको भूमिका अहम् छ । विवाह हिन्दु समाजमा कन्यादानबाट निश्रित सम्झौता कम र दायित्व बढी पैदा गराउने अटुट बन्धन हो । विवाहपछि महिला पतिको दायित्वको रुपमा सृजना हुन्छ । धर्मशास्त्र यथावत रहेपनि आजभोलि व्यवहारमा परिवर्तन हुँदै गैरहेको देखिन्छ ।

यता मगर समाजमा भने विवाह सम्झौता पैदा गराउने संस्था हो । मगर समाजमा विवाह २ प्रकृतिका थिए । एक व्यवस्थापन र अर्को प्रेम विवाह । व्यवस्थापन विवाह काम बुहारीमा आधारित थियो भने प्रेम विवाह सम्झौतामा । व्यवस्थापन विवाहमा केटाभन्दा केटीको उमेर बढी हुनु पर्थ्यो । विवाहमा बुहारीको श्रमले प्राथमिकता पाउँथ्यो । बुहारीको छनौटको आधार उसको श्रम क्षमतामा हुन्थ्यो । धेरै जसो बुहारी भदैनी छनौटमा पर्नुको कारण पनि कजाउन सजिलोका लागि नै थियो । केटीको उमर पुगेको भएपनि केटाको उमेर कमै हुन्थ्यो । आजभोलि भने व्यवस्थापन विवाह निकै कम भएको छ ।

प्रेम विवाह पनि धेरैको किशोर अवस्था मै हुने गर्दछ । विवाहका लागि समाजले नै केटाहरुलाई प्रेरित गर्दछ । जस्तो समाजले भन्छ,‘अब उमेर भैसक्यो, भोलि आफ्नो सवानका केटी पाइँदैनन् । कम उमेरको केटीले पत्याउँदैनन् । विवाह गर्यो भने बुवाआमालाई सजिलो हुन्छ । आफू कमाउन विदेश जाने भएपनि वा पढ्ने भएपनि घरमा सबै कामकाज उनैले हेर्छन्आदि’ ।

अर्कोतिर किशोर किशोरीलाई यौन आकांक्षाको प्राप्तीगर्ने उपाय विवाह मात्र हो भनेर सिकाइन्छ । विवाह मात्र जैविक आवश्यकता परिपूर्तीको साधन हो भन्ने कुरा स्थापित गरिएको छ । व्यग्र जैवीकीय आकांक्षाले पनि बालविवाहलाई प्रेरित गरेको हो । त्यसलाई सघाएको छ बाउआमालाई बुहारीको चाहनाले । बुहारीलाई कजाउने आकांक्षा त्यसपछि छोरा चाँदै जिम्मेवार हुने विश्वास ।

यौन आकांक्षाहरु सजिलै हासिल हुने समाजमा बालविवाह खासै सामाजिक समस्याको रुपमा देखिदैन । जस्तो जापानी समाजमा विवाह गर्न नचाहनु सामाजिक समस्याको रुपमा छ । यसको कारण १८ वर्षपछि हरेक छोराछोरीले बाउआमा त्याग्नै पर्ने चलन हुनु हो । जेठो सन्तान बाहेक अरुले पैत्रिक सम्पतिमा सामाजिक रुपमा हक नहुँदा आफै कमाउनु पर्ने अवस्था छ । बच्चा जन्माएपछि खासमा महिलाहरुले काम गर्न छाड्नु पर्छ । बच्चा हुर्काउनु पर्छ । पुरुषको कमाईले जीवन धान्न गाह्रो भएपछि बरु लिभिङ टुगेदर गर्ने तर विवाह गर्न नचाहने प्रवृत्ति छ । छोरा बुहारीबाट बाउआमाको खासै अपेक्षाहरु हुँदैनन् ।

रोल्पामा मगर समाजको बाहुल्य हुनुले अरु जातजातिमा पनि मगर विवाह दृष्टिकोणको प्रभाव छ । अझै कतिपयमा त दुरुस्तै लागु हुन्छ । रोल्पामा हिन्दु समाज जस्तो भर्जिनिटी बालविवाहको कारक होइन । बरु बालविवाहलाई प्रेरित गर्ने र संरक्षण गर्ने कारकहरु किशोरावस्थामा पैदा हुने व्यग्र यौन आकांक्षाको प्राप्तीको निर्विकल्प उपाय विवाह हुनु । किशोरावस्था बढी भावनात्मक र बहकिने उमेर भएकोले जैविकीय आकर्षणका आधारमा प्रेम सम्बन्ध हुनु । बाउआमाको बुहारीबाट श्रमको अपेक्षा रहनु । छोरा जिम्मेवार हुने विश्वास हुनु । परम्परागत कृषि पारिवारिक अर्थतन्त्रको मुख्य आधार र वैदेशिक रोजगार अर्को विकल्पको रुपमा रहनु । करियरमा विवाहले बाधा पुर्याउँछ भन्ने चेतनाको कमि हुनु । विध्यालयहरुमा समाजशास्त्रको राम्रो अध्यापन नहुनु । वालविवाहलाई समाजले स्वीकृत दिनु जस्ता कारकहरु नै बालविवाहको उत्प्रेरक हुन् ।

बालविवाह तुरुन्तै अन्त गर्न सकिदैन । किनभने बालविवाहलाई सामाजिक स्वीकृति छ । आर्थिक सामाजिक आयामहरुलाई बालविवाहले सघाइरहेको छ, जस्तो छोराले बुहारी ल्यायो भने परिवारको श्रमिक संख्या बृध्दि हुन्छ र परिवारको आयस्थामा सघाउ पुग्छ । समाजमा छोराले चाँदै बुहारी भित्र्याउँदा गर्व गर्ने अवस्था रहनु ।

तथापिबालविवाहलाई क्रमश न्युनिकरण भने गर्न सकिन्छ । यसका लागि रणनैतिक ढंगले कार्यक्रम संचालनमा ल्याउनु पर्छ ।केटासाथी केटीसाथी बनाउन शहरी समाज जस्तो ग्रामिण समाजले सहज स्वीकृती दिदैन । यो पक्ष चाहीँ तत्काललाई दवाउनुको विकल्प रहेन । बाउआमाले बुहारीबाट गरिने अपेक्षा र छोरा जिम्मेवार हुने भ्रमलाई चिर्नु पर्छ । तत्काल बुहारीको श्रमबाट हुने लाभ भन्दा छोराले राम्रो करियर बनाएर विवाह गर्यो भने हुने फाइदाबारे सबै अभिभावकहरुलाई स्पष्ट पार्नु पर्यो । विवाहको स्वीकृत गर्ने निकाय नै परिवार त्यसमा पनि बाउआमा भएको हुँदा बाउआमाले बालविवाह रोक्न सक्छ । हरेक किशोर किशोरीका बाउआमालाई भेला गरेर प्रशिक्षित गर्नु पर्यो ।

बदलिदो समाज छ । परम्परागत कृषि कर्मले जीविका चल्दैन । नयाँ ज्ञान र शीपको खाँचो छ । आजका बुहारी हिजोको जस्तो सासुको आदेश मानेर काम गर्नेवाला छैनन् । आजका बुहारीहरु आफै स्वाबलम्बन हुन चाहन्छन् । यो राम्रो पनि हो । हरेक छोरीहरु सक्षम र शिक्षित भएभने उनीहरु बुहारी होइन परिवारको सक्षम सदस्य भएर रहन सक्छन् । उनीहरु स्वनिर्णय गर्न सक्ने क्षमता राख्दछन् । पारिवारिक जीवनमा बलियो बार्गेनिङ शक्ति कायम राख्न सक्छन् । छोरीका मातापितालाई यो भन्दा गर्व लाग्दो विषय के हुन सक्छ । बुहारीले उनीहरुका सन्ततीलाई शिक्षित र संस्कारयुक्त बनाउन सक्छिन् । आमा शिक्षित भयो भने परिवार शिक्षित हुन्छ ।

विध्यालयहरुमा विध्यार्थीलाई आफ्नो करियर बारे सोँच्न सिकाउने । करियर र विवाह सँगसँगै जान सहज नहुने बारे पढाउने । विभिन्न केसहरु लिएर पढाउने । प्रेम, यौन र जीवनबारे रहने जिज्ञाशाहरु हटाउन विज्ञहरु लिएर बेला बेलामा प्रशिक्षित गराउने ।

बालविवाह नेपालको कानुनले अपराध करार गरे पनि समाजले यसलाई अपराध मान्दैन । समाजले स्वीकृत गरेको हरेक व्यवहारलाई सजिलै निवारण गर्न सकिदैन । यसका लागि लामो र चरणवध्द प्रयास एवं सामाजिक परिवर्तनको दवावले मात्र संभव हुन्छ । समयक्रममा बालविवाह आफै पनि कमि हुँदै जान्छ तर शीघ्र परिवर्तनको उदेश्य हाशिल गर्न भने स्थानीय सरकार र गैरसरकारी संस्थाहरुले हस्तक्षप गर्नै पर्छ ।

 

हाल: हिरोशीमा युनिभर्सिटी जापान

विकास नीति अध्ययनरत

 

 1,098 total views,  1 views today