पर्यटक तान्न ‘रक गार्डेन’

रोल्पा अनलाइन Tuesday, July 23, 2019


रोल्पा । पर्यटकीय क्षेत्र पहिचान गर्ने क्रममा रोल्पामा ढुङ्गे बगैचा अर्थात ‘रक गार्डेन’को अवधारणा ल्याइएको छ ।
‘युद्ध’ पर्यटनलाई प्राथमिकतामा राखेर पर्यटन प्रवद्र्धनमा लागेको रोल्पा नगरपालिकाले हालै मात्र रक गार्डेनको नयाँ अवधारणा अघि सारेको छ । नगरपालिकाले ३ नम्बर वडामा पर्ने सात्दोबाटो क्षेत्रमा निर्माण गरेको नगर वन उद्यनभित्र रक गार्डेन बनाउन सुरु गरेको हो । पर्यटन विकासका लागि नयाँ गन्तव्यको रुपमा विकास गर्न रक गार्डेन बनाउन थालेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । ‘हामीले सात्दोबाटोको डाँडामा नेपालकै अग्लो (११० फिटको) भ्यू टावर बनाउदैं छौं’ केसीले भन्नुभयो ‘त्यसकै नजिक रक गार्डेन बनाउन थालेका हौं’ । यसले आन्तरिक पर्यटकहरुलाई नयाँ किसिमको आनन्द दिने अपेक्षा गरिएको उहाँको भनाई छ ।
ढुङ्गै ढुङ्गा भएको डाँडामा ढुङ्गासँग जोडेर यहाँकै स्थानीय दिलबहादुर घर्तीले सिर्जना गरेको काटेको रुखको बोट तथा रुखकै बोक्रा जस्तो देखिने सोफा जस्तो देखिने आकर्षक आकृतिहरु हेर्न आउनेहरुको घुइचो लागेको छ । यहाँ घुम्न आएपछि नयाँ किसिमको अनुभूति भएको बताउनुहुन्छ–जलजला बहुमुखी क्याम्पस रोल्पाका उप–प्राध्यापक गोकर्ण पुन । ‘त्यसै पनि घुम्न लायक ठाउँमा रक गार्डेनले थप आकर्षण बढाएको छ’ पुनले भन्नुभयो । यसले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको पुनले बताउनुभयो ।
साउदी अरबमा सिकेको यस्तो कलालाई आफ्नो गाउँ ठाउँमा देखाउन पाउँदा खुसी लागेको ति आकृतिका सिर्जनाकार दिलबहादुरको भनाई छ । ‘मैले सिकेको कलालाई कहाँ प्रस्तुत गर्ने भन्ने अवसर खोजीरहेको थिए’ उहाँले भन्नुभयो ‘अन्य स्थानीय सरकारले पनि मेरो कलालाई प्रदर्शन गर्ने अवसर दिनुपर्छ’ । यसले मात्र कला भएकाहरुको प्रोत्साहन हुने उहाँको भनाई छ ।
प्रदेश सरकार अन्तरगतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १० लाख र रोल्पा नगरपालिकाको ४ लाख लगानीमा निर्माण गरिएको रक गार्डेन निर्माण गरिएको हो । अहिले नगर वन उद्यनको रुपमा योजना सञ्चालन गरिएको भएता पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न रक गार्डेनकाृे अवधारणा ल्याइएको नगरपालिकाको भनाई छ ।

221 total views, 3 views today