खानेपानी तथा सरसफाई गुरुयोजना बनाउदै ५ नम्बर प्रदेश

रोल्पा अनलाइन Wednesday, July 3, 2019

रोल्पा, असार १८ । ५ नम्बर प्रदेश सरकारले खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्न गुरु योजना बनाउन लागेको छ । नेपालको संविधानले नै प्रत्येक नागरिकको स्वच्छ खानेपानी तथा सरसफाईमा पहँुचको हक हुनेछ भनेकाले दिगो खानेपानी तथा स्वच्छता सम्बन्धि सेवा दिन एकीकृत तथा गतिशील गुरु योजना बनाउन लागिएको हो । त्यसका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विज्ञहरुले तयार पारेको गुरुयोजना सम्बन्धि दस्तावेजमाथि १२ वटै जिल्लामापुगी अभिमुखिकरण तथा सुझाव संकलन गरिरहेको छ । सोहि क्रममा मंगलवार रोल्पामा सुझाव संकलन गरिएको छ । पहिलो चरणमा स्थानीय तहमा विद्यमान खानेपानी तथा सरसफाई योजनाको तथ्याङ्क अद्यावधिक गर्ने, बस्ती पहिचान गर्ने र योजना प्राथमिकिकरण गरिने सरसफाई विज्ञ चन्द्रभक्त विष्टले बताउनुभयो ।

योजना निर्माणका लागि आगामी साउनदेखि प्रदेशमा रहेका सबै स्थानीय तहमा एक जना सरसफाई संयोजक प्रदेशले खटाउने भउको छ भने प्रत्येक वडामा तथ्याङ्क संकलनका लागि २ वा सो भन्दा बढी गणकहरु सम्बन्धित स्थानीय तहले खटाउने छन् । संकलित विवरण डिजिटल प्रणालीमा राखिने छ । यसले गर्दा स्थानीय, प्रदेश र संघीय सरकारले बजेट विनियोजन गर्दा दोहोरिने सम्भावना नहुने साथै यस क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थालाई पनि गुरु योजना बमोजिम मात्र काम गर्न लगाइने भौतिक पूर्वाधार विकास मन्त्रालयका सविच रामचन्द्र दंगालले बताउनुभयो ।
प्रदेशले बनाउन लागेको गुरुयोजनाले खानेपानीको समस्या भोग्दै आएका पहाडी जिल्लाहरुलाई फाइदा पुग्ने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले बताउनुभयो । यो योजनाले सन २०२२ सम्म रोल्पा जिल्लालाई पूर्ण सरसफाई युक्त बनाउने अभियानलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

165 total views, 1 views today