दुई सरकारी कार्यालयको विबादले सडक अलपत्र

माधवकुमार ओली Friday, June 28, 2019


रोल्पा, असार १३ । सडक डिभिजन कार्यालय र डिभिजन वन कार्यालयबीच समन्वय हुन नसक्दा रोल्पाको होलेरी–स्वर्गद्धारी सडक स्तरोन्नती गर्ने काम अलपत्र परेको छ । सडक चौडा गर्दा वन फडानी भएको भन्दै डिभिजन वन कार्यालय रोल्पाले मुद्धा हालेपछि सडक स्तारोन्नतीको काम रोकिएको हो ।

सडक डिभिजन कार्यालय प्यूठानले वातावरणीय प्रभाव मूल्याङ्कननै नगरी काम सुरु गरेको वन कार्यालयको आरोप छ । सडक डिभिजनले भने रुख काट्ने सहमति भएपछि मात्र काम सुरु गरेको बताउदैं आएको छ । दुई सरकारी कार्यालयको विबादका कारण सडक स्तरोन्नती गर्ने काम रोकिदा पवित्र तिर्थस्थल स्वर्गद्धारी जाने तिर्थ यात्रीलाई सास्ती भोग्नु परेको छ भने दैनिक रुपमा सञ्चालन हुने यातायातका साधन आवत जावतमा पनि समस्या भएको छ । एउटा सरकारी कार्यालयले गरेको काममा अर्काे सरकारी कार्यालयबाटै अबरोध हुँदा स्थानीयले सास्ती भोग्नु परेको रुन्टीगढी गाउँपालिका–५ का वडाध्यक्ष यामबहादुर दशौदीको गुनासो छ । ‘एउटा सरकारी कार्यालयले सुरु गरेको काम अर्काे सरकारी कार्यालयले रोक्नु यहाँका स्थानीयको लागि दुर्भाग्यपूर्ण बनेको छ’ दशौंदीले भन्नुभयो ‘वर्षायाममा हिलो र हिउदमा धुलोले स्थानीय हैरान भएका छन् ।’ स्थानीयको मागलाई नबुझेर वन कार्यालयले मुद्दा हालेपछि सास्ती खेप्नु परेको उहाँको भनाई छ ।
करिब ५ किलोमिटर सडक स्तरोन्नती गरी कालोपत्रे गर्ने जिम्मा लोहनीबरदेवी रानीबन जेभी कम्पनीले पाएको थियो । साढे ५ करोडको लागतमा यो सडक स्तरोन्नती गरी कालोपत्रे गर्ने काम गत चैतमा नै सक्ने योजना थियो, तर कार्तिकमा नै मुद्दा परेपछि काम ठप्प भएको हो । दुई कार्यालयबीच समन्वय गरी सडक स्तरोन्नतीको काम तत्काल सुचारु गर्नुपर्ने स्थानीयको माग छ ।

164 total views, 2 views today