मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक पूर्व समीक्षा

रोल्पा अनलाइन Thursday, June 27, 2019


रोल्पा, असार १२ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।
इन्सेक रोल्पाले संकलन गरेको गत ६ महिनामा जिल्लामा भएका मानवअधिकारसँग सम्बन्धित घटनाहरुमाथि छलफल गरिएको छ । इन्सेक प्रतिनिधि माधवकुमार ओलीले प्रस्तुत गरेका १० वटा घटनामाथि छलफल भएको थियो । १० घटना मध्ये ६ वटा राजनीतिक अधिकारसँग सम्बन्धित रहेका छन् । यस्तै सरकारी पक्षबाट धम्की, महिला अधिकार, बालअधिकार र अधिकारकर्मीमाथि आक्रमण प्रयासका १÷१ वटा घटना रहेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले आफ्नो अधिकारको प्रयोग गर्दा कर्तव्यको पनि ख्याल गर्नुपर्ने बताए । संविधान नै मान्दैन भन्ने पक्षले नागरिकको हत्याहिंसा र टावर लगायतका सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी गर्दा आफ्नो कर्तव्य भुलेको बताए । इन्सेकका साधारण सदस्य घनश्याम आचार्यले विगतदेखि नै इन्सेकले राज्य र विद्रोही पक्षबाट हुने मानवअधिकार उलंघनका घटनालाई निष्पक्ष रुपमा विश्लेष्ण गरी अभिलेखिकरण गरेकाले अहिलेपनि राज्यलाई सचेत गराउने र संविधान मान्दैनौ भन्ने पक्षबाट हुने मानवअधिकार हननका घटनालाई अभिलेख गर्ने बताए । देशमा राजनीतिक परिवर्तन गर्न रोल्पाको महत्वपूर्ण भूमिका भएता पनि नेता र नेतृत्वको व्यवहार परिवर्तन हुन नसकेकोले रोल्पाका जनप्रतिनिधिले नमूना काम गरेर उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका सहभागिहरुले केहि घटनाहरु छुटेकाले त्यसलाई पनि समेट्न सुझाव दिएका थिए ।

81 total views, 1 views today