शिक्षा क्षेत्रलाई प्राथमिकता दिऔं–मन्त्री केसी

रोल्पा अनलाइन Wednesday, June 26, 2019


रोल्पा, असार ११ । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बजेट विनियोजन गर्दा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन स्थानीय तहलाई सुझाव दिनुभएको छ ।
रोल्पा नगरपालिकाको पाचौं नगरसभालाई सम्बोधन गर्दै मन्त्री केसीले सडकमा मात्र बजेट हाल्दा अन्य क्षेत्र पछि परेको बताउनुभयो । ‘कम्सेकम विद्यालयलाई गोठ जस्तो हुन नदिऔं’ केसीले भन्नुभयो ‘रङ्गरोगन गर्ने बजेट त होला नि ?’ सडक गाउँ गाउँमा पुराएर मात्रै खास्सै केहि नहुँने भन्दै उहाँले कृषि र स्वरोजगारका कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । यस्तै मन्त्री केसीले प्रदेश सरकारले विभिन्न सडक, खानेपानी, सिँचाई तथा सहरी विकासका कार्यक्रमका लागि बजेट छुट्याएको समेत जानकारी गराउनुभएको थियो ।


नगरसभाले आर्थिक वर्ष २०७६÷७७ का लागि ६३ करोड १० लाख ७८ हजार रकम विनियोजन गरेकोे छ । संघीय सरकारबाट सशर्त अनुदान प्राप्त २१ करोड १९ लाख, वित्तिय समानीकरण अनुदान ११ करोड ५१ लाख, राजश्व बाँडफाँडबाट १० करोड ३८ लाख र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान वित्तिय समानीकरणतर्फ ४३ लाख ४० हजार र राजश्व बाँडफाँडतर्फ ७६ लाख १६ हजार रकम अनुदानको रुपमा रहेको छ । त्यस्तै आन्तरिक आम्दानीतर्फ २ करोड, गतवर्षको अल्या ६ करोड १५ लाख ९४ हजार तथा आन्तरिक ऋण ३ करोड, सामाजिक सुरक्षा कार्यक्रमको ५ करोड ५० लाख, बहुक्षेत्रीय पोषण कार्यक्रमबाट १७ लाख २८ हजार गरी ६३ करोड १० लाख ७८ हजार विनियोजन गरिएको नगर प्रमुख पूर्ण केसीले जानकारी दिनुभयो । बजेटको घोषणा नगर उपप्रमुख मनकुमारी घर्तीले प्रस्ताबित बजेट प्रस्तुत गर्नुभएको थियो ।
पाचौं नगरसभामा प्रवक्ता मिमबहादुर घर्तीले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । रोल्पा नगरपालिकाका कृषि, शिक्षा र पर्यटनमा विशेष जोड दिएको निति तथा कार्यक्रममा उल्लेख छ ।
रोल्पा नगरपालिकाले बजेट खर्चिनका लागि विभिन्न पाँच क्षेत्रलाई प्राथमिकीकरण गरेको छ । जस अन्तर्गत सबैभन्दा धेरै पूर्वाधार विकासतर्फ कुल बजेटको २८.४४ प्रतिशत अर्थात १७ करोड ९५ लाख छुट्याएको छ ।
प्रमुख अतिथि मन्त्री केसीले रोल्पा नगरपालिकाका उत्कृष्ट कर्मचारी स्वास्थ्य शाखा प्रमुख टंक गीरी, १ नम्बर वडा अध्यक्ष शेरबहादुर कँवर, कम्प्युटर अप्रेटर राजी बुढामगर, उत्कृष्ट कर दाता तिर्था आचार्य, गोबिन्द आचार्य लगायतलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । भने नगर प्रमुख पूर्ण केसीले अबिर र बिशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
नगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा विशिष्टि अतिथि जिल्ला समन्वय समितिका प्रमुख श्री राजबहादुर बुढा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नेकपाका अध्यक्ष सुरेन्द्र घर्ती थापा, नेपाली काँग्रेसका कार्यबाहक सभापति किशोर कुमार आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष विश्व चन्द, निमार्ण ब्यवसायी समिति रोल्पाका कोषाध्यक्ष मनसीं डाँगी, विभिन्न सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरु, समाजसेवी बुद्धिजिवि लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम रोल्पा उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको थियो भने कार्यक्रमको प्रत्यक्ष प्शारण समेत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन प्रमुख प्रशाशकीय अधिकृत सावित्रा पुन थापाले गर्नुभएको थियो । उदघाटन कार्यक्रम पश्चात आयोजित नगरसभा सदस्यहरुको आन्तरिक बैठकले निति तथा कार्यक्रम र बजेट सर्वसमतिले पारित गरेको नगर प्रेस संयोजक देवी गुरुङले जानकारी दिनुभयो ।

124 total views, 2 views today