रहेनन् विप्लव समर्थित वडाध्यक्ष बुढा

रोल्पा अनलाइन Saturday, June 22, 2019

रोल्पा, असार ७ । रोल्पाको थबाङ गाउँपालिका १ नम्बर वडाध्यक्ष फर्कबहादुर बुढा ‘उज्जल’को निधन भएको छ ।
जेठ ३० गते विहान ब्रेन ह्यामेरेजका कारण अचेत भएका अध्यक्ष बुढालाई ३१ गते विहान उपचारका लागि काठ्माण्डौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । एक हप्तासम्म पनि केहि सुधार नआएपछि शुक्रबार चिकित्सकहरुले उपचार सम्भव नहुने निष्कर्षसहित विदा गरिदिएपछि घर लैजाँदै गर्दा ३ बजे मुग्लीनको कुरिनटारमा निधन भएको उनका भदै मौसम रोकाले जानकारी दिनुभयो । बुढाको ६० वर्षको उमेरमा निधन भएको हो । उहाँको अन्तिम संस्कार भने गाउँमै गरिने भएको छ । सशस्त्र द्वन्द्वको समयमा जनमुक्ति सेनाका ‘डाक्टर’ मानिने बुढाले सीएमए पढेर लामो समय अहेवको रुपमा सरकारी जागिरे समेत बन्नुभएको थियो । तर पेन्सन हुन १ वर्षमात्र बाँकी हुँदा २०५५ सालमा बुढा अहेबको जागिर छाडेर जनसेनाको डाक्टर बन्नुभएको थियो ।
माओवादी विभाजनपछि मोहन वैद्य ‘किरण’ समूह हुदैं हाल नेत्रविक्रम चन्द ‘विप्लव’ समूह रहेका बुढा गत स्थानीय तहको निर्वाचनमा पार्टीको नीति विपरित स्वतन्त्र उम्मेदवार दिई निर्वाचित बन्नुभएको हो । गाउँपालिकामा नै प्यानल सहित स्वतन्त्र उम्मेदवारी दिएको भएता पनि १ नम्बर वडामा बुढाको प्यानल बाहेक गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका अन्य वडामा माआवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । वडाध्यक्ष बुढाको निधनसँगै थबाङीहरुले एकजना अभिभावक गुमाएका छन् ।

190 total views, 1 views today