शहीदमार्ग कालोपत्रे एक वर्षमै उप्कियो

माधवकुमार ओली Friday, June 21, 2019


रोल्पा, असार ५ । शहिदमार्ग सडक आयोजना अन्तरगत दाङको घोराही देखि रोल्पाको होलेरीसम्मको सडक खण्ड कालो पत्रे भएको एक वर्ष नवित्दै कालोपत्रे उप्कीएर खाल्डाखुल्डी पर्न थालेको छ ।
करिव ३२ किलोमिटर सडक खण्ड कालो पत्रे गर्न काम सुरु गरेको ५ वर्ष पछि बल्ल काम सम्पन्न गरेता पनि काम सम्पन्न भएको एक वर्षमै सडकमा खाल्डाखुल्डी पर्न थालेको हो । निर्माण कम्पनीको लापरबाहीले अत्यन्तै ढिला गरी कालो पत्रे गर्ने काम सम्पन्न भएको थियो तर एक वर्षमै कालोपत्रे उप्कीन थालेपछि लामो समयदेखि हिलो र धुलोका कारण हैरान भएका स्थानीय फेरी उही समस्या भोग्नुपर्ने हो कि भन्ने आशंकामा छन् । ‘यसरी अहिले नै खाल्डो पर्न थालेपछि अबको एक÷डेढ वर्षमा फेरी धुलाम्मे र हिलाम्मे हुन्छ’ स्थानीय रविन्द्र पुनले भने ।
सम्बन्धित निकायको लापरबाहीका कारण गुणस्तरहिन काम भएको उनको आरोप छ ।
एक्जीम बैंक अफ इन्डियाको सहयोगमा २०७१ जेठदेखि सुरु भएको सडक कालो पत्रे गर्ने कामको जिम्मा सील प्यासीफिक जेभी निर्माण कम्पनीले लिएको थियो । कम्पनीले ४० करोड रुपैयाँमा जिम्मा लिएको शहिदमार्ग कालोपत्रेको काम ४ वर्ष ढिलोगरी केहि महिनाअघिमात्र सम्पन्न गरेको थियो । बल्लतल्ल कालो पत्रे भएको सडक फेरी जिर्ण बन्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।

332 total views, 1 views today