करेटीमा पानीको हाहाकार

रोल्पा अनलाइन Friday, June 14, 2019


रोल्पा । त्रिवेणी गाउँपालिका–१ नम्बर वडाका करेटी, मजुवा र यारी गाउँमा गत फागुनदेखि पानीको हाहाकार भएको छ । वर्षायाममा गाउँनजिकैको मुहानमा पानी आउने भएता पनि अहिले ति मुहान सुकेपछि गाउँमा हिउदको समयमा सधै पानीको समस्या हुने गरेको छ । पानीको अभावका कारण खाना पकाउन भान्साघरदेखि शौचालय जान समेत समस्या हुने गरेको स्थानीयको गुनासो छ । नजिकै पानीको मुहान नभएपछि बसमा चढेर गाउँदेखि टाढा पुगेर बसबाटै पानी ओसार्नेे गरेको स्थानीयको भनाई छ ।
गाउँमा खानेपानी योजना सञ्चालननै नभएको पनि होइन । सोलार लिफ्ट खानेपानी योजनाबाट गाउँमा खानेपानी ल्याउने प्रयास गरिएकै हो तर उक्त योजनाको पनि मुहान सुकेपछि त्यो योजनाले पनि राहत दिन सकेन । गाउँभन्दा धेरै टाढाबाट पानी ल्याउनुपर्ने भएकाले स्थानीय सरकारले तत्काल योजना बनाउन नसकेको वडा सदस्य खड्कबहादुर विकले बताउनुभयो ।
स्थानीय सरकारले गाउँमा मोटरबाटो, विद्युत, विद्यालय र इन्टरनेट सेवा सञ्चालनमा ल्याएको भएता पनि दैनिक जीवनयापनमा अत्यावश्यक खानेपानीको व्यवस्था भने गर्न सकेको छैन् । यो गाउँमा खानेपानी योजना सञ्चालनका लागि स्थानीय सरकारले नसकेता पनि प्रदेश र केन्द्र सरकारले भएपनि खानेपानीको व्यवस्था गरिदिनुपर्ने स्थानीयको माग छ ।

246 total views, 1 views today