अभिभावक विहिन बालबालिकाको साहारा बोयर बाख्रा

रोल्पा अनलाइन Sunday, June 2, 2019


रोल्पा । भाईको मृत्युपश्चात अभिभावक विहिन ४ वटा बालकालिकाहरुको समेत हेरचाह गर्दै आउनुभएका त्रिवेणी गाउँपालिका–२ बाँफेका हरिप्रसाद घर्ती यिनिहरुको पढाई खर्च कहाँबाट जुटाउने भन्ने चिन्तामा हुनुहुन्थ्यो, तर अहिले भने उहाँ चिन्ता मुक्त बन्नुभएको छ । उनीहरुको पढाई खर्चका लागि भनेर खोरभरी उन्नत जातका बोयर बाख्रा सहयोग पाएपछि हरिप्रसादलाई उनीहरुको पढाई खर्च जुटाउन कतै जान नपर्ने भएको छ । घर्तीलाई ७ वटा बाख्रा र एउटा बोयर जातको बोका पाएपछि अब बालबालिका पढाउन सहज हुने भएको हो ।


आर्थिक अवस्था कमजोर भएकाका कारण बालबालिकाहरु विद्यालय छाडेर ईटाभट्टा र अन्य श्रममा जान थालेपछि जिल्लाको त्रिवेणी गाउँपालिकामा सुरु गरिएको परिवारलाई आयआर्जनमा लगाउने अभियान अन्तरगत हरिप्रसादले उक्त सहयोग पाउनु भएको हो ।

अभिभावक विहिन तथा अति विपन्न परिवारका बालबालिकाहरुको पढाईमा समस्या नहोस भन्ने उद्देश्यले त्रिवेणी गाउँपालिकाको समन्वयमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले सुरु गरेको यो कार्यक्रमले ७२ परिवारले जिविकोपार्जनका लागि सहयोग पाएका छन् । गाउँपालिकामा यस्ता २ वटा कुखुरा फर्म र २ वटा बाख्रा फर्मलाई नमूनाको रुपमा सञ्चालन गरिएको छ भने विद्यालय उमेर कटिसकेकाहरुलाई पनि यो कार्यक्रमले विभिन्न व्यावसायिक तालिम दिई स्वरोजगार बनाएको छ । यो कार्यक्रमले त्रिवेणी गाउँपालिकामा विद्यालय बाहिर रहेका अति विपन्न परिवारका बालबालिकालाई पढाउन सहज हुने मात्र नभई समग्र उनीहरुको आर्थिक अवस्थामा समेत सुधार आउने अपेक्षा गरिएको छ ।

371 total views, 6 views today