विपन्न बालबालिकालाई शैक्षिक सहयोग

रोल्पा अनलाइन Friday, May 31, 2019


रोल्पा, जेठ १७ । त्रिवेणी गाउँपालिकामा दुई सय जना बालबालिकाहरुलाई शैक्षिक सहयोग गरिएको छ । त्रिवेणी गाउँपालिकाको समन्वय, सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले विभिन्न कारणले पढाइमा समस्या भोगिरहेका बालबालिकाहरुलाई पढाइमा सहयोग पु¥याउन शैक्षिक सहयोग गरिएको हो ।
एकीकृत परियोजना अन्तरगत गाउँपालिकका सातै वडाका २ सय जना बालबालिकाहरुलाई कपी, कलम, झोला, विद्यालय पोसाक, सुइटर, जुत्ता मोजा सहित सिलाइ खर्च समेत सहयोग गरिएको हुरेकले जनाएको छ । विद्यालयमा नियमित पढ्न सहज होस भनी प्रति विद्यार्थी रु.२ दुई हजार ५ सय बराबरको रकमका शैक्षिक सामग्रीहरु गरिएको हो ।
आर्थिक विपन्नता, अभिभावक विहीन, बालश्रम लगायतका समस्या भोग्दै आएका बालबालिकाहरुलाई शैक्षिक सहयोग प्रदान गरेपछि उनीहरुको पढाइमा सहज भएको वडा नं. ५ का वडा अध्यक्ष कृष्णबहादुर केसीले बताए । विद्यालय र अभिभावकहरुको मागका आधारमा वडा बाल संरक्षण समितिको सिफारिसका आधारमा शैक्षिक सहयोग गरिएको हुरेककी शिक्षा अधिकृत प्रमिला बुढाले बताइन् । त्रिवेणी गाउँपालिकामा दुई वर्षदेखि हुरेकले शिक्षासम्बन्धी विभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको छ । शैक्षिक सहयोग पाएपछि बालबालिकाहरु नियमित विद्यालय आइरहेका छन् ।

 340 total views,  1 views today