शिविरबाट ८ सय नागरिकता वितरण

धरेन्द्र डाँगी Monday, May 27, 2019

रोल्पा । त्रिवेणी गाउँपालिकामा चार दिनसम्म संचालन भएको एकीकृत घुम्ती शिविरबाट ७ सय ९३ जनाले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाको आयोजना र त्रिवेणी गाउँपालिकाको समन्वय तथा व्यवस्थापनमा जेठ १० देखि १३ सम्म जुगारमा संचालन भएको शिविरमा स्थानीय नागरिकहरुले आफ्नै गाउँबाट विभिन्न सेवा प्राप्त गरेको हुन् ।

नागरिक प्राप्त गर्ने ७ सय ९३ मध्ये ५ सय १५ जना महिलाहरु रहेको टोली प्रमुख जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्मा दोरङ्गाले बताए । १६ वर्षदेखि ७० वर्षसम्मका नागरिकहरुले नागरिकता पाएका हुन् । नागरिकता लिन सदरमुकाम लिवाङ जानुपर्ने बाध्यताबाट सहज भएको भन्दै स्थानीयवासीहरुले खुसी व्यक्त गरेका छन् । घरदैलोमै नागरिकता पाउदा खुसी भएको त्रिवेणी ५ की हिरा वलीले बताइन् ।

एकीकृत शिविरबाट नागरिकहरुले नागरिकता लिनुका साथै निर्वाचनका लागि मतदाता नामावली पनि भरेका छन् । त्यस्तै पशु, कृषि, स्वास्थ्य लगायतका सेवाहरु पनि सो शिविरबाट प्राप्त गरेको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए । धेरै पहिलेदेखि यस्तो खालको शिविर संचालन गर्ने योजना अनुसार यो शिविर भएको अध्यक्ष वलीले बताए । त्रिवेणी गाउँपालिककाका सातै वडाहरुबाट नागरिकता प्राप्तीका लागि नागरिकहरु विहानै देखि लाइनमा बस्ने गरेका थिए । नागरिकहरुलाई सहज होस भनी सबै वडा अध्यक्ष र वडा सचिवहरु शिविर संचालन हुने स्थानबाटै कार्यालय संचालन गरी सिफारिस लगायतका सेवाहरु प्रदान गरेका थिए ।

 336 total views,  1 views today