मासु र अण्डामा आत्मनिर्भर बन्न अनुदानका कार्यक्रम

माधवकुमार ओली Sunday, May 26, 2019


रोल्पा । प्रदेश नम्बर ५ सरकारले मासु र अण्डामा आत्मनिर्भर बन्ने उद्देश्यले किसानहरुका लागि विभिन्न अनुदानका कार्यक्रम ल्याएको छ । अनुदानका कार्यक्रम अन्तरगत पहिलो चरणमा विशेषगरी पशुपालन गर्दै आएका किसानहरुलाई प्रात्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरेको हो । त्यसका लागि पहाडी जिल्लाहरुमा विशेष गरेर बाख्रा र बंगुरपालनलाई प्राथमिकता दिइएर यस वर्ष बाख्रा तथा बंगुर फर्म स्थापना तथा सुदृढिकरणका लागि अनुदानका कार्यक्रम तय गरिएको छ । जस अनुसार रोल्पामा ५० प्रतिशत अनुदानमा उन्नत जातका बोका वितरण खोर सुधार, पशु स्वास्थ्य शिविर र स्थानीय सरकारसँगको सहकार्यमा किसानहरुलाई परामर्श दिने काम भइरहेको प्रदेश सरकार मातहतमा रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले जनाएको छ । प्रदेश सरकारको मातहतमा रोल्पा र रुकुम पूर्व हेर्नेगरी स्थापना भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले ति अनुदानका कार्यक्रम कार्यान्वयनको जिम्मा पाएको छ । चालु आर्थिक वर्षमा अख्तियारी प्राप्त अनुदानका कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. धर्मराज गिरीले बताउनुभयो ।
प्रदेश सरकारले ल्याएको अनुदानका कार्यक्रमले व्यावसायिक रुपमा पशुपालन गर्ने किसानहरुमा गरेपछि सरकारले पनि हेर्दाे रहेछ भन्ने विश्वास बढाएको गिरीको भनाई छ ।
प्रदेश सरकारको अण्डा र मासुमा आत्मनिर्भर बन्ने अभियानलाई रोल्पाका कतिपय स्थानीय तहले पनि साथ दिएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकाले अण्डा र मासुमा आत्मनिर्भर बन्ने योजनाका साथ प्रत्येक वडामा १० घरपरिवारलाई ५० वटाका दरले चल्ला वितरण गरेको छ । ७ वटा वडा रहेको सो गाउँपालिकाले किसानहरुको आयआर्जनमा समेत बृद्धी गर्न नमूना खोर बनाउनका लागि २० हजारका दरले अनुदान रकम समेत वितरण गरेको छ । अण्डामा आत्मनिर्भरसँगै बालबालिकाहरुको पोषण सुधार गर्ने कार्यक्रम अन्तरगत यस वर्ष २५ लाख बजेट विनियोजन गरी चल्ला वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले बताउनुभयो ।
पहिलो वर्ष नमूनाका रुपमा अभियान सञ्चालन गरिएपनि किसानहरुले व्यावसायिक रुपमा काम गर्न चाहेमा आगामी दिनमा थप बजेट विनियोजन गरी कार्यक्रमलाई बढावा दिइने पनि गाउँपालिकाको योजना छ । प्रदेश सरकारको समृद्ध प्रदेश, खुसी जनता भन्ने नारालाई सफल बनाउन यस्ता कार्यक्रमले टेवा पुग्ने देखिन्छ ।

140 total views, 2 views today