लसुनले राम्रो मूल्य पाउँदा किसान खुसी

माधवकुमार ओली Friday, May 24, 2019


रोल्पा । यस वर्ष लसुनले राम्रो मूल्य पाएपछि रोल्पाका किसान हर्षित भएका छन् । गत वर्ष थोरै मूल्यमा विक्रि गर्न बाध्य यहाँका किसान यस वर्ष भने लसुनले प्रति केजी ७० देखि ९० रुपैयाँसम्म मूल्य पाएपछि राम्रो आम्दानी हुने भन्दै खुसी भएका हुन ।
जिल्लाको बुढागाउँ, नुवागाउँ, झेनाम, डुब्रिङ र सखी लगायतका किसानले यस वर्ष लसुनको राम्रो मूल्य पाएका छन् । यस वर्ष प्रति केजि ७० देखि ९० रुपैयाँसम्ममा लसुन विक्रि भएपछि यहाँका किसानहरु लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । गत वर्ष खास्सै राम्रो मूल्य नपाएपनि यस वर्ष राम्रो मूल्यमा लसुन विक्रि भएपछि आम्दानी पनि राम्रो हुने किसानहरुको भनाई छ । ‘गत वर्ष खास्सै भाउ बढेको थिएन’ त्रिवेणी गाउँपालिका–४ बुढागाउँका किसान बिमल घर्तीले भने ‘यस वर्ष राम्रो मूल्य गएको छ ।’ यो वर्ष डेढ लाख भन्दा धेरै आम्दानी हुने उनको अनुमान छ ।
मसलाको रुपमा प्रयोग हुने लसुन शहरका ठूला होटेलहरुमा धेरै खपत् हुने गर्दछ । यहाँ उत्पादित लसुन गुणस्तरीय हुनेहुँदा बजारका लागि पनि किसानहरु कतै जानु नपरेको त्रिवेणी गाउँपालिका–४ चक्रीका किसान रोबर पुनको भनाई छ । दाङ, नेपालगञ्ज, बुटवलदेखि महेन्द्रनगरसम्मका व्यापारीहरु लसुन खरिदका लागि गाडी लिएर गाउँमै आउने गरेका छन् । तरकारीको पकेट क्षेत्रका रुपमा रहेको यस क्षेत्रका युवाहरुले गाउँमै व्यावसायिक रुपमा लसुन तथा अन्य तरकारी खेती गर्दै आएका छन् । रोल्पामा हाल ६५ हेक्टर क्षेत्रफलमा वार्षिक ६ सय मेट्रिक टन लसुन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र रोल्पाले जनाएको छ । लसुन खेतीलाई थप विस्तार गर्न यस क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना समेत सञ्चालन भइरहेको छ ।

188 total views, 1 views today