स्मार्ट कृषि गाउँ घाडागाउँमा मसला बाली लगाइदैं

रोल्पा अनलाइन Wednesday, May 15, 2019

रोल्पा । प्रदेश नम्बर ५ सरकारले कृषिमा प्रविधिको प्रयोग बढाउदै यान्त्रीकीकरण गर्ने उद्देश्यले सुरु गरेको स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तरगत रोल्पाको घोडागाउँमा मसला बाली लगाउन सुरु गरिएको छ ।
जिल्लामा मसला बालीको विस्तार गर्न अदुवा र बेसारको व्यावसायिक खेती सुरु गरिएको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समिति घोडागाउँका अध्यक्ष बलबहादुर खत्रीले जानकारी दिनुभयो । ‘सिँचाई अभावका कारण तत्काल अन्य बालीलाई छोडेर अदुवा र बेसार छनौट गरेका हौं’ खत्रीले भन्नुभयो । यस वर्ष १४ हजार केजी बेसार र १३ हजार केजी अदुवाको बिउ लगाउन सुरु गरेको अध्यक्ष खत्रीले बताउनुभयो ।
स्मार्ट कृषि गाउँ कार्यक्रमले कृषकहरुलाई व्यावसायिक खेतीमा लाग्न प्रेरित गरेको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका सचिव शोभाराम नेपालीको भनाई छ । ‘यसअघि व्यावसायिक खेती थिएन’ नेपालीले भन्नुभयो ‘अहिले सबै कृषक अन्य बाली छोडेर मसला बालीमा लागेका छौं’ । ‘अन्न बाली छोडेर मसला बाली मात्र खेती गर्दा पछि भएन भने के खाने भन्ने पनि कतिपय कृषकको चिन्ता रहेको छ’ नेपालीले भन्नुभयो ।


प्रदेश सरकारको एक निर्वाचन क्षेत्र, एक स्मार्ट कृषि गाउँ कार्यक्रम अनुसार ५ नम्बर प्रदेशका १२ जिल्लामा ५२ वटा गाउँ स्मार्ट कृषि गाउँका रुपमा छनौट भएका छन् । रोल्पा जिल्लामा दुई वटा स्मार्ट कृषि गाउँ स्थापना गरिएको छ । जसअनुसार प्रदेश निर्वाचन क्षेत्र नं. १ बाट सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँ छनोटमा परेको थियो भने क्षेत्र नं. २ बाट गंगादेव गाउँपालिका–३ जिनाबाङ छनोट गरिएको छ । गाउँमा जलबायु परिर्वतनमा स्मार्ट, सिँचाईमा स्मार्ट, माटोको पोषण तत्वमा स्मार्ट, प्रविधिमा स्मार्ट र बजारीकरणमा स्मार्ट गर्ने प्रदेश सरकारको योजना रहेको छ । त्यसका लागि प्रत्येक स्मार्ट कृषि गाउँलाई ५० लाखका दरले बजेट विनियोजन गरिएको छ । स्मार्ट कृषि गाउँ छनोट भएका गाउँमा ५० घरधुरी र २ सय ५० रोपनी जमिनमा मसलाको रुपमा अदुवा, बेसार, मौरीपालन, बाख्रापालन, आलु खेती, रायोको बिउ उत्पादन र तरकारी उत्पदान गर्न लागेको कृषि ज्ञान केन्द्र रोल्पाले जनाएको छ ।
४ वर्षमा सो गाउँका युवा कृषकहरुको क्षमता अभिबृद्धि गरी कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउने कार्यक्रमको लक्ष्य रहेको छ ।

344 total views, 1 views today