विद्युत विस्तारले रोल्पाका गाउँ झलमल्ल

रोल्पा अनलाइन Tuesday, May 7, 2019


रोल्पा । यसअघि प्यूठानको झिमरुक जलविद्युतबाट उत्पादित विद्युतबाट रोल्पाका केही पूर्वीभागमा मात्र विद्युत सेवा पुगेको थियो । तर अहिले स्थानीय तहले विद्युत विस्तारका लागि बजेट छुट्याएपछि जिल्लाभरनै केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको छ । रोल्पाका गाउँ गाउँमा विद्युत विस्तार भएपछि गाउँ उज्यालो मात्र भएका छैनन् साना तथा घरेलु उद्योगहरु समेत खुल्न थालेका छन् । स्थानीय तहको चुनावअघि विद्युत अभावको रहेको जिल्लाको त्रिवेणी गाउँपालिकाको केन्द्र नेर्पाबजार आजभोली झलमल्ल छ । वर्षौदेखिको उज्यालोमा बस्ने यहाँका स्थानीयको आशा पूरा भएको स्थानीय जातिराम घर्तीले बताए । ‘यसअघि सोलारबाट बल्ल बल्ल बत्ति बाल्थ्यौं’ स्थानीय व्यापारी घर्तीले भने ‘अहिले त राम्रो छ । मोबाइल चार्ज गर्न, वाइफाई चलाउन, टिभि हेर्न र विभिन्न फर्निचर उद्योग चलेका छन् ।
त्रिवेणी गाउँपालिकाले गत वर्ष ३ करोड बजेट छुट्याएर त्रिवेणी उज्यालो कार्यक्रम नै सञ्चालन ग¥यो भने यस वर्ष पनि झण्डै २ करोड बजेट विनियोजन गरि सबैै वडामा विद्युत विस्तार गर्न लागेको छ । तर विद्युत विस्तारका लागि पोल गाड्ने र तार तान्ने काम भएता पनि ट्रान्समिटरको अभावमा कतिपय ठाउँमा स्थानीयले विद्युत बाल्न नपाएको गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीको भनाई छ । ‘विद्युत प्राधिकरणले ट्रान्समिटर दिन नसक्दा कतिपय ठाउँमा बत्ति बल्लन सकेको छैन्’ ओलीले भने अब यस वर्ष गाउँपालिकाका सबै वडामा विद्युत विस्तार गर्ने लक्ष्य रहेको छ ।
गाउँ गाउँमा विद्युत विस्तार भएपछि बत्ति बाल्नुको साथै लिफ्ट सिँचाई, साना तथा घरेलु उद्योग सञ्चालन गर्न सहज भएको छ भने विद्यालयहरुमा कम्प्यूटर कक्षा सञ्चालनमा आएका छन् । यस्तै गाउँपालिकाको उज्यालो त्रिवेणी कार्यक्रमले वर्षौ देखि विद्युतको समस्या भोग्दै आएको रोल्पा सिमेन्ट उद्योगलाई समेत राहत भएको छ ।

595 total views, 1 views today