आधुनिक कृषि औजार उद्योगको उद्घाटन

रोल्पा अनलाइन Monday, May 6, 2019

रोल्पा । रोल्पा नगरपालिका–७ नं. वडामा रहेको पवित्र कृषि औजार निर्माण उद्योगको एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । रोल्पा नगरपालिका वडा नं ७ को वडा कार्यालयबाट रु २ लाखको अनुदानमा निर्मित आधुनिक कृषि औजार निमार्ण भटटीको नगर प्रमुख पूर्ण के.सी.ले उद्घाटन गर्नुभयो । अब नयाँ प्रविधि मार्फत निमार्ण भएको उद्योग सञ्चालनमा आएसँगै दर्जन बढी यूवाहरुलाई रोजगारी पनि अवसर प्राप्त हुने उद्योग सन्चालक सार्के बिकले बताउनुभयो । हाल उक्त उद्योगमा ५ जनाले रोजगारी पाएका छन् । पुर्खादेखी गर्दै आएको उद्योगलाई नयाँ प्रविधि मार्फत नयाँ ढंगले सन्चालनमा ल्याईएपछि आफुहरुलाई पनि सहज हुने र धेरैले रोजगारी पाउनुका साथै उद्योगबाट सेवाग्राहीपनि हर्षित हुने सन्चालन बिकको भनाई छ ।

आईतबार उक्त कृषि औजार निर्माण भट्टी उद्घाटन गर्दै प्रमुख अतिथि पुर्ण के.सी.ले भन्नुभयो–“पम्परागत आरन व्यवसायीलाई आधुनिकरणको निम्ति यस वडा कार्यालयले आधुनिक कृषि औजार निर्माण भट्टी खरिदको निम्ति आवश्यक वजेट विनियोजन कार्य सहरानीय कार्य हो ।” आधुनिक कृषि औजार निर्माण भट्टीबाट औजार उत्पादन वृद्धिसँगै गुणस्तरीय कृषि औजार निर्माण गरेमा मात्र भट्टीको प्रयोग गरेको सार्थकता हुने प्रमुख अतिथि के.सी.ले धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुन थापा मगरले परम्परागत शैलिमा उद्योगबाट कृषि औजार निर्माण हुँदै आएको अवस्थामा आधुनिक कृषि औजार निर्माण भट्टीको व्यवस्थापनले उद्योग आधुनिकरण बन्ने विचार व्यक्त गर्नुभयो । उद्योग आधुनिकरण बन्नु नै जीवन स्तर माथि उठ्ने आधार भएको उहाँले बताउनुभयो ।

उद्योग सञ्चालनको निम्ति पहिलो स्रोत भनेको कोइला हो तर पछिल्लो समयमा कोइलाको निम्ति दाउरा पर्याप्त नपाउँदा उद्योग नै धरापमा परेको अवस्थामा वडा कार्यालयबाट भट्टीको व्यवस्थाले उद्योग सञ्चालनमा सहज बन्ने वडा अध्यक्ष गनसिं पुनमगरले बताउनुभयो । उहाँले वडा कार्यालयको आर्थिक वर्ष २०७५÷२०७६मा विनियोजित वार्षिक बजेट दुई लाख रकममा पवित्र कृषि औजार निर्माण उद्योग सञ्चालनको निम्ति अनुदानमा आधुनिक भट्टी खरिद गरिएको जानकारी दिनुभयो । उद्योगबाट विभिन्न कृषि औजारहरू निर्माण हुँदै आएका छन् । स्थानीयतहहरुमध्ये रोल्पा नगरपालिका–७ नं. वडा कार्यालय कृषि औजार निर्माण क्षेत्रमा वजेट विनियोजन गर्ने पहिलो वडा कार्यालय भएको छ ।

वडा अध्यक्ष गनसिं पुनमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वडा सचिव सुदिप डाँगीले गर्नुभएको थियो ।

उदघाटन कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत सावित्रा पुन थापाको विशिष्ट आतिथ्यता रहेको थियो भने समाजसेवी भानसीं घर्ती, पत्रकारहरु, स्थानियहरुको सहभागिता रहेको थियो ।

207 total views, 1 views today