रोल्पा उद्योग वाणिज्य संघ सम्मानित

रोल्पा अनलाइन Sunday, May 5, 2019


रोल्पा । उद्योगी व्यवसायीहरुको हकहितमा निरन्तर रुपमा लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै रोल्पा उद्योग वाणिज्य संघ सम्मानित भएको छ ।

शनिवार नवलपरासीमा भएको नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर ५ को दोस्रो साधारणसभाको अवसरमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दलाई सम्मानपत्र प्रदान गरि सम्मान गर्नुभएको हो ।
विगत लामोसमयदेखि दाङको भालुबाङबाट लिइदैं आएको अनाधिकृत कर हटाउन रोल्पा उद्योग वाणिज्य संघ निरन्तर रुपमा लागेको थियो । साविकको जिल्ला विकास समिति (हालको जिल्ला समन्वय समिति) दाङले उठाउदैं आएको उक्त अनाधिकृत कर हाल हटाइएको छ । राप्तीका सरोकारवालाहरुसँग समन्वय गरी जिसस दाङले उक्त अनाधिकृत कर हटाउने सहमति पश्चात पनि कर उठाउने ठेक्का पाएको कम्पनीले उच्च अदालत तुलसीपुरमा मुद्दा हालेको थियो । उच्च अदालत तुलसीपुरले पनि उद्योग वाणिज्य संघको पक्षमा आदेश दिएपछि हाल उक्त अनाधिकृत कर हटेको छ । उक्त अनाधिकृत कर हटाई उद्योगी व्यावसायीहरुको हकहितमा ठूलो योगदान गरेको भन्दै रोल्पा उद्योग वाणिज्य संघ सम्मानित भएको अध्यक्ष चन्दले रोल्पा अनलाइनलाई जानकारी दिनुभयो । सो अनाधिकृत कर हटेसँगै राप्ती अञ्चलका पहाडी जिल्लाका उद्योगी व्यवसायीले ठूलो राहत महसुश गरेका छन् ।

146 total views, 2 views today