सकियो रोल्पा गुराँस साहित्य मेला

रोल्पा अनलाइन Thursday, May 2, 2019

रोल्पा । रोल्पा गुराँस साहित्य मेला २०७६ को अवसरमा आएका साहित्यकारहरुलाई बिदाई गरिएको छ । लिबाङ ओखरेनी हुँदै थबाङ गाउँपालिकामा स्वागत कार्यक्रम र परिवर्तन गाउँपालिकामा सहभोज कार्यक्रम सकाएर फर्किएको साहित्यकारहरुको टोलीलाई अबेर राति बिदाई गरिएको हो ।

रोल्पा नगरपालिकाको वडा नं १० को पेवाबाट निस्कीएको साहित्यकार, पत्रकार एवम सरोकारवालाहरुको टोलीलाई नगरपालिकाकै वडा नं १० को ओखरेनीमा सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनमगर, उपाध्यक्ष पवित्रा घर्तीमगर र अन्य वडा अध्यक्ष लगायत गाँउपालिकाको टोलीले स्वागत सहित सहभोजको आयोजना गरेका थिए ।

यसैगरी दुबै गाउँपालिकाका जनप्रतिनिधि सम्मिलित साहित्य मेलाका अतिथिहरुले पदयात्रा सहित थबाङ गाउँपालिकाको जलजलामा साहित्यीक कार्यक्रम सम्पन्न गरेका छन् । कविता बाचन लगायतका गुराँस संग कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।

टोलीलाई थबाङ गाउँपालिका अध्यक्ष बिरबहादुर घर्ती र उपाध्यक्ष रामकीरणी रोकामगर लगायतका पदाधिकारीह्रुले फुलमालाले स्वागत गर्नुभएको हो । थबाङ गाउँपालिकाको हलमा आयोजित स्वागत कार्यक्रम पश्चात टोली परिवर्तन गाउँपालिकामा फर्किएको हो । परिवर्तन गाउँपालिका उपाध्यक्ष हितकुमारी बुढामगरले स्वागत सहित सहभोज गराउनुभएको हो ।

सहभोज पश्चात रोल्पानगरपालिकाको लिबाङ अबेर राति करिब २ बजे आईपुगेको टोलीलाई नगर प्रमुख पूर्ण केसी, मुल आयोजक समितिका संयोजक डिबि टुहुरो, मुल आयोजक समितिका पदाधिकारीहरुले बिदाई गरेका हुन् । काठमाण्डौं लगायत विभिन्न क्षेत्रबाट आएका अग्रज साहित्यकार, प्रतिष्पर्धी साहित्यकार र राष्ट्रिय कविता प्रतियोगितामा बिजेता बनेका साहित्यकारहरुलाई राति नै बिदाई गरिएको हो ।

बरिष्ट साहित्यकारहरुलाई बिदाई पश्चात रोल्पा नगरपालिकामा बुधबार बैठक सम्पन्न भएको छ । संयोजक डिबि टुहुरोको अध्यक्षता तथा नगर प्रमुख पूर्ण केसीको आतिथ्यतामा मुल आयोजक समितिका पदाधिकारीह्रुको उपस्थितिमा सम्पन्न बैठकले साहित्य मेला भब्य तवरले सम्पन्न भएको निष्कर्ष निकालेको हो । कार्यक्रमको अवसरमा सरोकार राख्ने र सहयोग गर्ने सुनछहरी गाउँपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिकालाई धन्यवाद दिने बैठकले निर्णय गरेको छ । यसैगरी कार्यक्रमलाई भब्य बनाउनका लागि सहयोग र समन्वय गर्ने सबै सरोकारवालाहरुलाई धन्यवाद ब्यक्त गरेको हो ।

281 total views, 1 views today