पर्यटन प्रवद्र्धन गर्न ‘गन्तव्य जलजला’

रोल्पा अनलाइन Friday, April 19, 2019


रोल्पा । रोल्पाको जलजलामा ‘गन्तव्य जलजला कार्यक्रम’ घोषणा गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सरकारले तयार गरेको देशका १०० गन्तव्य मध्येको एक जलजलामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गन्तव्य जलजला कार्यक्रम घोषणा गरिएको हो ।
‘जलजलाको संरक्षण र पर्यापर्यटनको विकास गरौं, नेपाल भ्रमण वर्ष २०२० लाई भव्य रूपमा सफल पारौं’ भन्ने मूल नाराका साथ रोल्पाको जलजलामा ‘गन्तव्य जलजला’ कार्यक्रम घोषणा गरिएको छ । सरकारले सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले मंगलवार ‘गन्तव्य जलजला’ कार्यक्रम घोषणा गरिएको हो । घोषणा कार्यक्रम जलजलामा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले गर्नुभएको थियो भने औपचारिक कार्यक्रम भने थबाङको ठूलो गाउँमा गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले अब जलजलाको भ्रमणमा आन्तरिक मात्र नभई विदेशी पर्यटकहरु समेत आउने विश्वास व्यक्त गर्नुभयो । ‘सरकारले सन २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्राउने लक्ष्य लिएको छ’ मन्त्री पुनले भन्नुभयो ‘ति विदेशी पर्यटकहरु जलजलामा पनि आउने छन् ।’
जिल्ला समन्वय समिति रोल्पाको आयोजना तथा थबाङ गाउँपालिकाको सहआयोजनामा भएको गन्तव्य जलजला घोषणा कार्यक्रममा काठमाडौंबाट आएका ३० जना आन्तरिक पर्यटकले जलजलाको पदयात्रा सम्पन्न गरेका छन् । सदरमुकाम लिबाङ हुँदै जलजला पुगेर थबाङ फर्कीएका पदयात्रीलाई थबाङमा स्वागत गरिएको थियो । ३ हजार १ सय ९३ मिटर उचाइमा रहेको जलजलामा वैशाख, जेठ र जनैपूर्णिमामा गरी ३ पटक मगर जातिका १२ भाइ बराहमध्ये कैलु बराहको पूजापाठ गरिन्छ । यस्तै विश्वमै दुर्लभ मानिने रेडपाण्डा लगायत विभिन्न बन्यजन्तु, पञ्छीहरु र विभिन्न प्रजातिका फूलहरु पनि पाइन्छ । संरक्षित क्षेत्रको रुपमा रहेको जलजलामा भौतिक पूर्वाधारको अभावले यसअघि सोचे जस्तो पर्यटक भित्रिन नसकेको भएता पनि अबभने पर्यटकको संख्यमा बृद्धि हुने अपेक्षा गरिएको छ ।

162 total views, 2 views today