स्वदेशी पूँजी परिचालन गर्न सके देश समृद्ध–ढकाल

रोल्पा अनलाइन Sunday, April 7, 2019


रोल्पा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले स्वदेशी पूँजी परिचालन गर्न सके मात्र देश समृद्ध बन्ने बताएका छन् ।
रोल्पा उद्योग वाणिज्य संघको १५औं साधारणसभालाई शनिवार सम्बोधन गर्दै ढकालले स्वदेशी लगानी कर्तालाई पहिलो प्राथमिकता दिएर आकार्षित गर्नुपर्ने बताएका हुन् । ‘लामो समयको राजनीतिक अस्थिरतापछि देशमा ३ तहको निर्वाचन भई झण्डै दुई तिहाईको सरकार निर्माण हुँदा निजी क्षेत्रले शुभ संकेतको रुपमा लिएको थियो’ ढकालले भने ‘तर हाल सरकार निजी क्षेत्रका लागि गतिशील छैन् ।’ निजी क्षेत्रले विकासमा साझेदारी गर्न खोजेको भएता पनि ३ तहका कुनै सरकारसँग त्यस्ता योजना नभएको उनको भनाई छ । आयातित बस्तुको पहिचान गरी ति बस्तुको निर्यात गर्नेगरी निजी क्षेत्रले लगानी गर्न खोजेको भएता पनि सरकारसँग स्पष्ट खाका नहँुदा लगानीकर्ता अन्यौलमा परेको उल्लेख गरे । साथै उनले यो अवस्थामा सरकारले अवसरको रुपमा नलिए देशको अर्थतन्त्र सुधारमा फेरी लामो समय पर्खनुपर्ने बताए ।
यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले देश सञ्चालनका लागि कर तिर्ने उद्योगी व्यवसायीलाई सरकारले बेवास्त ागर्नु दुखद भएको बताए । ५ नम्बर प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष गुणनिधि तिवारीले स्थानीय सरकारले योजना बनाउदा सार्वजनिक निजी साझेदारी मार्फत योजना बनाउन नसकेकाले त्यसमा ध्यान दिन स्थानीय सरकारलाई ध्यानाकर्षण गराए ।
रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले जिल्लामा कर तिरेर व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई मर्का पर्नगरी आउने डोकेपोके व्यापारीलाई निरुत्साहि गर्ने काम आफूहरुले गरेको भएता पनि स्थानीय सरकारले भने उल्टै डोकेपोकेलाई नै प्रोत्साहन गर्ने गरेको दुखेसो पोखे । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाको उपस्थिति रहेको कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका प्रमुखहरुको भने उपस्थिति थिएन । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु, विभिन्न जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको सधारणसभामा रोल्पाका पहिलो पाइलट क्याप्टेन शिव डाँगी लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
सधारणसभामा कोषाध्यक्ष निमबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव मिलन रोकाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

128 total views, 1 views today