नयाँ भवनले शैक्षिक सुधारको आशा

रोल्पा अनलाइन Monday, March 25, 2019


रोल्पा । विगत लामो समयदेखि विद्यालयमा आवश्यक भवन अभाव रहेको रोल्पा नगरपालिका–७ घ्यूपोखरास्थित बालहित आधाभूत विद्यालयमा नयाँ भवन निर्माण भइरहेको छ ।
विद्यालयको आवश्यकतालाई हेरेर रोल्पा नगरपालिकाको समन्वयमा सेभ द चिल्ड्रेन र मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाको सहयोगमा उक्त विद्यालयमा ४ कोठाका २ वटा भवन निर्माण थालिएको हो । सेभ द चिल्ड्रेन र हुरेक रोल्पाको ५० लाख र स्थानीयको ३ लाख बराबरको श्रमदानबाट निर्माणाधिन उक्त भवनको सोमबार नगरप्रमुख सहितको टोलीले अवलोकन तथा अनुगमन गरेको छ ।

यसअघि जोखिमपूर्ण भवनमा अध्ययन गर्दै आएका त्यहाँका बालबालिकाहरुले अब नयाँ भवनमा सहजै अध्ययन गर्न सक्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर विकले बताउनुभयो । रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, हुरेकका अध्यक्ष घनश्याम आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, सेभ द चिल्ड्रेनका परियोजना संयोजक दिलकमल क्षेत्री लगायतको टोलीले भवनको अवलोकन गरेको हो । विद्यालयको भवन अभावकै कारण शैक्षिक गुणस्तरमा समेत असर परेकामा आगामी शैक्षिक सत्रदेखि भने त्यस्तो समस्या हट्ने प्रधानाध्यापक अमरबहादुर बुढाको भनाई छ ।
आधारभूत तहसम्मको पढाई हुने यो विद्यालयमा भवन अभावको समस्या समाधान भएपनि विद्यार्थीले बिचैमा विद्यालय छोड्ने समस्या भने हट्न सकेको छैन् । यस वर्ष १ सय ७१ जना विद्यार्थी भर्ना भएकोमा १ सय ६४ जनाले मात्र परीक्षा दिएको विद्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक अभावका कारण बिचैमा विद्यालय छाड्ने यस्ता विद्यार्थीहरुलाई विद्यालयमा टिकाई राख्न स्थानीय सरकारले केहि सोच्नुपर्ने देखिन्छ ।

216 total views, 1 views today