पकेट क्षेत्रकै तरकारीले बजार पाएन

रोल्पा अनलाइन Sunday, March 17, 2019

रोल्पा । तरकारीको पकेट क्षेत्र मानिएको जिल्लाको दक्षिण भेगमा उत्पादित तरकारीले बजार नपाउँदा किसानहरु चिन्तित बनेका छन ।
व्यावसायिक तरकारी खेती हुने जिल्लाको नुवागाउँ, दहबन, रामपुर, सखी, झेनाम र डुब्रिङका किसानहरुका तरकारी विक्री नहुँदा लगानी डुब्ने भन्दै चिन्तित बनेका हुन । अहिले यहाँको बन्दागोपीले ५ किलो रुपैयाँसम्मको भाउमा पनि विक्री हुन नसकेको किसानको गुनासो छ । बारीमा फलेको बन्दा, काउली, गोलभेडा, खुर्सानी, तरकारी र लसुन प्याज, अदुवा लगयातका मसलाजन्य वस्तु स्थानीय स्तरमा विक्री नभएपछि किसानलाई समस्या भएको हो ।
बाहिरी जिल्लाबाट व्यापारीहरु खरीद गर्न नआउदा किसानहरुलाई ठुलो मर्का परेको छ । गतवर्षहरुमा बाहिरी जिल्लाका व्यापारीहरु पनि यहाँ तरकारी खरिद गर्न आउने गरेका थिए । दुःख गरेर बारीमा फलाएको तरकारीले बजार नपाएपछि किसान आफैँ खाने र आफन्तलाई बाडेरै सिध्याउन बाध्य भएका छन।गत वर्षहरुमा तरकारीबाट ५ लाख जति आम्दानी गरेको त्रिवेणी गाउँपालिका २ दहवनका किसान पुष्पा घर्तीले बताइन । ‘तरकारी विक्री नहुँदा लगानी पनि नउठ्ने भयो’ उनले दुखेसो पोखिन । उत्पादन गरेको तरकारी गाउँमा नै विक्री गर्दै आएको भएपनि सोचे अनुसार विक्री नहुँदा यहाँका किसानहरु निराश बनेका छन ।
तरकारी बिक्रीबाट मनग्य आम्दानी गरेकी त्रिवेणी गाउँपालिका दहवनका कल्पना पुनले अहिले विक्रि गर्न गाउँ भरि बोकेर लागे पनि लगानी नउठ्ने उनले बताइन । करिव ८ वर्ष देखि तरकारी खेती गर्दै आएकी पुनले विगतका वर्षहरुमा तरकारी खरिद गर्न बाहीरी जिल्लाबाट व्यापारीहरु आए पनि अहिले कुनै पनि व्यापारीहरु खरिद गर्न नआएको उनले बताइन । तरकारी उत्पादन गर्दै आएका यहाँका किसानले धेरै मात्रमा बन्दा, काउली र लसुन फलाए पनि बित्री नहुँदा निराश बनेका छन । प्रशस्त मात्रमा तरकारी उत्पादन गरेको भए पनि तरकारी विक्रि नहुँदा स्थानीय तहले कुनै चासो नदिएको अर्का किसान मदन नेपालीले बताए । तरकारी विक्री केन्द्र पनि छन । गत वर्षहरुमा स्थानीय व्यापारीहरुले बाहिरी जिल्लाका व्यापारीसँग मिलेर तरकारी निर्यात गर्ने गरेका थिए । अहिले कुनै पनि व्यापारीले चासो नदिएको नेपाली बताउछन । गाउँघरमा उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन सकेका छैन । तर जिल्लाको प्रमुख व्यापारी केन्द्र सुलिचौर र लिवाङ लगायत अन्य क्षेत्रमा भन्ने तरकारीको मूल्य उच्च रहेको छ ।
जिल्लामा तरकारी सञ्चय गरेर राख्ने (कोल्ड) स्टोर नहुँदा पनि यहाँ समस्या गरेको किसान बताउँछन । सबैलाई सहज हुने गरि कोल्ड स्टोर निर्माण गर्नुपर्ने किसानको माग रहेको छ ।

186 total views, 1 views today