मेयरद्धारा टुडिखेल प्रयोगमा रोकः शिवरात्री कप स्थगित

रोल्पा अनलाइन Sunday, March 3, 2019

रोल्पा, फागुन १९ । लिबाङस्थित टुडिखेल मैदान प्रयोगमा रोल्पा नगरपालिकाले रोक लगाएपछि शनिवारदेखि जारी महाशिवरात्री कप फुटबल प्रतियोगिता स्थगित भएको छ ।
इन्जिनियर्स फुटबल क्लव रोल्पाले महाशिवरात्रीको अवसर पारेर आयोजना गरेको फुटबल प्रतियोगिता शनिवार रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले उद्घाटन गर्नुभएको थियो । तर अर्काेदिन मेयर आफैले पानी परेको भन्दै टुडिखेलमा खेल खेलाउन रोक लगाएपछि आयोजकले फुटबल प्रतियोगिता स्थगित गर्न बाध्य भएको छ ।
शनिवार ८ टिमको लिग चरणका १२ वटा खेलहरु मध्ये ७ वटा खेल सम्पन्न भैसकेको थियो । १९ गते लिग चरणका बाँकी ५ खेल तथा सेमिफाइनल र २० गते शिवरात्रीका दिन भव्य समारोहबीच फाइनल खेल खेलाई समापन गर्ने तयारी आयोजकले गरेको थियो । पानी परेको कारण देखाउदै नगरपालिकाले टुडिखेल मैदान उपलब्ध गराउन नसकिने भनि आयोजकलाई जानकारी गराएपछि आयोजकले माडिचौरमा खेल खेलाउने तयारी गरेको भएता पनि प्रतियोगी टिमले खेल मैदान टाढा भएको भन्दै सहभागी नहुने जनाएका थिए । कुल सहभागी ८ टिम मध्ये ४ टिमलाइ वाकओभर दिनुपर्ने देखिएकोले बाँकी ४ टिमलाई २० गते माडीचौर खेल मैदानमा वाँकी लिग, सेमिफाइनल र फाइनल गरि ९ खेलहरु एकै दिन सम्पन्न गरी मेडल, ट्रफी र प्रमाणपत्र वितरण गर्न नसकिने भएपछि खेल स्थगित गर्न बाध्य भएको आयोजकले जानकारी दिएको हो ।
साथै आयोजकले खेलमा सहभागी गाउँपालिका, नेपाल पत्रकार महासंघ, बैंक कर्मचारीहरु, गै.स.स.कर्मीहरु, व्यापारिक समूह लगायत निर्णायक मण्डल, भिडियो ग्राफर लगायत सम्पूर्ण खेलप्रेमी महानुभावहरुमा क्षमा माग्दै एक दिन मात्र भएपनि खेलमैदान उपलब्ध गराएकोमा नगरपालिकालाई धन्यवाद दिएको छ ।
सहभागी टिमलाई दर्ता शुल्क फिर्ता गरिने र आयोजकले खरिद गरेका रु. ६५ हजार बराबरको कप, मेडल, प्रमाणपत्रकुनै राष्ट्रिय चाडको अवसरपारी खेल खेलाई ति कप, मेडलको सम्मान गरिने इन्जिनियर्स फुटबल क्लव रोल्पाले बताएको छ ।

895 total views, 1 views today