राष्ट्रिय खुल्ला लोक दोहोरीगीत प्रतियोगिता रोल्पामा सुरु

रोल्पा अनलाइन Friday, February 22, 2019


रोल्पा, फागुन १० । रोल्पाको लिबाङमा राष्ट्रिय खुल्ला लोकदोहोरीगीत प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको ५ नम्बर प्रदेश सांसद दीपेन्द्र कुमार पुनले उद्घाटन गर्नुभयो । रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका बरिष्ठ केन्द्रीय उपाध्यक्ष रमेश विजी विशिष्ट अतिथि रहनुभएको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सचिव राधिका हमाल, केन्द्रीय सदस्य हरि डाँगी लगायतको आतिथ्यता रहेको थियो ।
प्रदेश सांसद पुनले कला साहित्यले नै सबै समुदायलाई एकै ठाउँमा जोड्ने बताउनुभयो । रोल्पा नगरपालिकाका प्रमुख केसीले कला संस्कृतिको धनी जिल्लाको अझै प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै लोक तथा दोहोरी गीत प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष रमेश बिजीले रोल्पा सुनेको भन्दा कैयौं फरक रहेको भन्दै रोल्पा पुगेपछि सिंगो नेपाल भेटिने बताउनुभयो । पछिल्लो समय प्रतिष्ठान जस्ता संस्थाहरुमा समेत राजनीति हुन थालेको भन्दै उपाध्यक्ष रमेशले त्यस्तो गर्ने वातावरण नबनाउन दलहरुलाई आग्रह समेत गर्नुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रोल्पाका अध्यक्ष मिलन रोकाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रदेश सांसद दीपेन्द्र कुमार पुनले फूलमा पानी हाली उदघाटन गर्नुभएको थियो । भीम वलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सुन्दर अनुरागले स्वागत गर्नुभएको थियो । उदघाटन कार्यक्रममा सुनछहरी कला केन्द्र रोल्पा तथा विभिन्न झाँकी समूहहरुले आफ्नो प्रस्तुती राखेका थिए ।

चारदिनसम्म चल्ने खुला राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा १५ टिमले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । त्यसका साथै दैनिक लिबाङ टुँडिखेलमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने प्रतिष्ठानका अध्यक्ष मिलन रोकाले जानकारी दिनुभयो । प्रतियोगितामा विजयी हुनेले क्रमशः १ लाख, ५० हजार, ३० हजार र सान्त्वनाले २० हजार प्राप्त गर्नेछन् ।

186 total views, 2 views today