रोल्पा नपाद्धारा सञ्चार क्षेत्रको प्रवद्र्धनमा जोड

रोल्पा अनलाइन Thursday, November 29, 2018


रोल्पा, मंसिर १३ । स्थानीय सञ्चारमाध्यमहरुको प्रवद्र्धनका लागि रोल्पा नगरपालिका रोल्पाले आर्थिक रकम प्रदान गरेको छ । जिल्लाका १० स्थानिय तह मध्ये रोल्पा नगरपालिकाले सञ्चारक्षेत्रको प्रर्वद्धनका लागि समानुपातिक ढंगले बजेट बिनियोजन गर्दै आईरहेको बताएको छ । रोल्पा नगरपालिकाका नगर प्रमुख पुर्ण केसीले भन्नुभयो बिगतका बर्षहरु भन्दा यस बर्ष केही रकम बढाएर नगरपालिका भित्र सञ्चालनमा रहेका सबै सञ्चारमाध्यमहरुलाई बजेट बिनियोजन गरेका छौं । गत बर्ष सञ्चारक्षेत्रको लागि भनेर रु ३ लाख बजेट बिनियोजित भएको थियो भने यस बर्षमा रु ५ लाख बजेट बिनियोजित भएको छ । रोल्पा नगरपालिका भित्र रहेका ३ वटा सामुदायिक रेडियो र नगरपालिका भित्रबाटै सञ्चालनमा रहेका पत्रिका तथा अनलाईनको लागि उक्त रकम बाँटफाँट गरिएको नगर प्रमुख केसीले बताउनुभयो । रोल्पा नगरपालिका भित्र रहेका सबै सञ्चारमाध्यमका प्रतिनिधिहरुसँगको छलफल पश्चात उहाँहरुको सहमति अनुसार नगरपालिकाको सूचना तथा कार्यक्रम प्रसारण गर्ने र नगरपालिकाबाट हामीले केही बजेट बिनियोजन गर्ने सहमति अनुसार यो ब्यवस्था गरिएको हो । नगर प्रमुख केसीका अनुसार नगरपालिका रोल्पाको सदरमुकामको रुपमा रहेकाले पनि राष्ट्रिय पत्रिकाहरुलाई बार्षिक ग्राहकका रुपमा या कुनै न कुनै तवरले सहयोग गरिदै आएको बताउनुभएको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ रोल्पाको भवन निमार्णका लागि समेत प्रत्येक बर्ष बजेट बिनियोजित गर्दै आईरहेको नगर प्रमुख केसीले बताउनुभयो । सञ्चारमाध्यमलाई नजिकैबाट बुझेका केसीले स्थानिय सरकारले सञ्चारक्षेत्रको प्रर्वद्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । रोल्पामा रहेका एक नगरपालिका र ९ गाउँपालिका मध्येबाट समानुपातिक ढंगले सञ्चारमाध्यमको प्रर्वद्धनमा योगदान दिएको नगरक्षेत्रका सञ्चारमाध्यमहरुलाई उद्रित गर्दै नगर प्रेस संयोजक देवी गुरुङले जानकारी दिनुभयो ।

267 total views, 1 views today