सुन फलाउँदै ‘ट्रफल च्याउ’

रोल्पा अनलाइन Wednesday, October 31, 2018

रोल्पा – थवाङ राचिवाङका किसान अहिले दंग छन् । विश्वमै दुर्लभ तथा बहुमूल्य मानिने ‘ट्रफल’ च्याउका बिरुवा हुर्कंदै गरेकाले उनीहरू खुसी भएका हुन् । ‘यो जातको च्याउ मूल्यवान् हुन्छ भन्ने सुनेका छौं, उत्पादन सुरु भएपछि निक्कै कमाइ हुन्छ होला,’ स्थानीय राजकुमार रोकामगरले भने।

रोकामगरका अनुसार सात वर्षअघि थवाङको एक हेक्टर जग्गामा रोपिएका चार सय ३५ मध्ये अहिले दुई सय बिरुवा हुर्किरहेका छन् । यी बिरुवा बेलायतबाट ल्याइएका हुन् । वैज्ञानिक नाम ‘कोरिलस एभेलाना’ भएको ‘ट्रफल’ च्याउको विश्व बजारमा अत्यधिक मूल्य पर्ने भएकाले यसलाई ‘ब्ल्याक डायमन्ड’ भनेर पनि चिनिन्छ । राम्रो खालको ‘ट्रफल’ च्याउ प्रतिकेजी ५ हजार अमेरिकी डलर (५ लाख रुपैयाँभन्दा बढी) सम्ममा बिक्री हुने यससम्बन्धी अनुसन्धानको अगुवाइ गरिरहेका त्रिभुवन विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका सहप्राध्यापक डा. गिरिराज त्रिपाठी बताउँछन्।

डा. त्रिपाठीका अनुसार केही समयअघि डिएनए परीक्षण गर्दा ‘ट्रफल’ नै हो भन्ने निक्र्योल भएपछि स्थानीय तथा अनुसन्धाताले बढी चासो राख्न थालेका छन् । यो खेती सफल हुनेमा अनुसन्धाता आशावादी छन् । ‘अहिले हुर्किरहेका बिरुवामा ‘ट्रफल’ पाइएमा एक हेक्टर जग्गाबाट वार्षिक एक करोड रुपैयाँसम्म आम्दानी लिन सकिन्छ,’ डा. त्रिपाठी भन्छन्, ‘यसले स्थानीयको जीवनस्तर उकास्न मद्दत गर्छ ।’ दक्षिण एसियामै पहिलो पटक रोल्पाको थवाङमा ‘ट्रफल’ च्याउको परीक्षण खेती सुरु गरिएको डा. त्रिपाठीको भनाइ छ।

त्रिभुवन विश्वविद्यालयले अजम्बरी जनकृषि सहकारी संस्था थवाङसँगको सहकार्यमा ‘ट्रफल’ च्याउ खेती सुरु गरेको हो । २०६८ साल चैत २१ गते एक कार्यक्रमबीच तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले च्याउखेतीको उद्घाटन गरेका थिए । त्यसयता खेतीको रेखदेख स्थानीय किसानले गर्दै आएका छन् । ‘ट्रफल’ खेती सुरु गरिएको जमिन व्यक्तिगत भए पनि माओवादी युद्घकालमा ‘कम्युन’ मा आबद्ध किसान यसमा संलग्न छन् । ‘मेहनत र जग्गा स्थानीयको हो, अरु सबै कार्य त्रिभुवन विश्वविद्यालयले गर्दै आएको छ,’ स्थानीय रोकामगरले भने । डा. त्रिपाठीका अनुसार ‘ट्रफल’का लागि क्याल्सियम र कार्बनयुक्त चिसो हावापानी चाहिने भएकाले थवाङ छनोटमा परेको हो।

ट्रफलले ८ देखि १० वर्षमा उत्पादन दिन थाल्छ । ‘रोल्पामा सफल भएमा नेपालको पश्चिम क्षेत्रमा यसलाई विस्तार गर्न सकिन्छ,’ डा. त्रिपाठी भन्छन् । अहिले ‘ट्रफल च्याउ’को बिरुवा विदेशबाट ल्याउनुपर्ने हुन्छ । नेपालमा प्रयोगशाला स्थापना गरेर बिरुवा उत्पादन गर्न करिब ४ करोड लाग्ने उनको भनाइ छ । एकपटक रोपेपछि यसले सय वर्षसम्म उत्पादन दिन्छ।

नेपालमा ट्रफल प्रजातिको च्याउ किनेर खाने सर्वसाधारणसँग हैसियत नभएकाले युरोपेली मुलुकका तारे होटलमा उक्त च्याउ खपत हुने डा. त्रिपाठी बताउँछन् । ‘अत्यधिक स्वादिलो तथा सुगन्धयुक्त हुने भएकाले यो च्याउ बहुमूल्य हुन गएको हो । धनी व्यक्तिले मासु, तरकारी आदिमा स्वाद र बासनाका रूपमा प्रयोग गर्छन्,’ उनी भन्छन् । परम्परागत रूपमा फ्रान्सका जंगली रुखमा यो च्याउ पाइन्थ्यो । सन् १९९७ मा न्युजिल्यान्डका वैज्ञानिक इयान हलले कृत्रिम रूपमा यसको बिरुवा उत्पादन सुरु गरेका हुन्।

के हो ‘ट्रफल’ ?

एक प्रकारको च्याउका रूपमा परिचित ‘ट्रफल’ गिट्ठाजस्तो जमिनमुनि फल्ने ढुसीजन्य खाद्य वनस्पति हो । विकसित देशका तारे होटल तथा रिसोर्टमा ‘ट्रफल’ मिसाइएका खाद्यपरिकारलाई ‘एक्जोटिक डिस’ भनिन्छ । अन्तर्राष्ट्रिय बजारमा ‘ट्रफल’को मूल्य न्यूनतम प्रतिकिलो १ हजार अमेरिकी डलर र उच्चगुणस्तरको च्याउलाई प्रतिकिलो ५ हजार डलरसम्म पर्छ।

ट्रफलको अतुलनीय सुगन्धका कारण यो धेरै महँगो भएको हो । ट्रफलको एउटा बोटबाट दुई सय ५० देखि चार सय ग्रामसम्म उत्पादन हुन्छ । एक हेक्टर जमिनमा वार्षिक १ सय किलोसम्म ‘ट्रफल’ फलाउन सकिन्छ । तर, यसको उत्पादनका लागि प्रदूषणरहित वातावरण र उच्च प्राविधिक दक्षता हुनु आवश्यक छ । डा. त्रिपाठी भन्छन्, ‘यो आफैंमा कुनै निश्चित बिरुवा नहुने ट्रफलको ‘फंगी’लाई अणु–जैविक प्रविधिबाट यसका लागि अनुकूल हुने ‘होस्ट प्लान्ट’ स“ग प्रयोगशालामा ‘इन्फेक्सन’ गराइ उक्त ‘प्लान्ट’ रोपिन्छ।

‘जमिनमुनि फल्ने ढुसीजन्य खाद्य वनस्पति भएकाले यसलाई निकाल्न तालिमप्राप्त कुकुर प्रयोग गर्नुपर्छ । कुकुरले यसको बासना पत्ता लगायो भने बिस्तारै खनेर ‘ट्रफल’ झिक्नु पर्छ,’ डा. त्रिपाठी भन्छन्, ‘मान्छेले खनेर भेट्टाउन गाह्रो पर्छ।’

नागरिक न्यूजबाट

284 total views, 1 views today