मूल्य सूची राख्दैनन् व्यापारीहरु

रोल्पा अनलाइन Friday, October 5, 2018

रोल्पा, असोज १९ । बजारमा दैनिक उपभोग्य बस्तु किन्दा एउटा बस्तुको मूल्य जुनसुकै पसलबाट किन्दा पनि उस्तै हुनुपर्ने हो । तर रोल्पाका पसलहरुमा मूल्य सुची नै नभएपछि कुन बस्तुलाई कति मूल्य पर्छ भन्नेमा उपभोक्ताहरु अलमलमा छन् । जिल्लाको सदरमुकाम लिबाङ बजारका कुनैपनि पसलमा मूल्य सूची नहुँदा उपभोक्ताहरु एउटै बस्तुलाई पसलैपिच्छे फरक–फरक मूल्यमा किन्न बाध्य छन् ।

हेर्नुहोस भिडियो रिपोर्ट…

चाड पर्वको समयमा व्यापारीहरुले मनोमानी ढङ्गले दैनिक उपभोग्य वस्तुको मूल्य तोक्दा आफूहरु मर्कामा परेको उपभोक्ताहरुको गुनासो छ ।
स्थानीय प्रशासनले अनुगमनका क्रममा मूल्य सूची राख्न निर्देशन दिने गरेको भएता पनि व्यापारीहरुले भने उक्त निर्देशन पालना गरेको पाइदैन । पटक पटक निर्देशन गर्दा पनि अटेर गर्ने व्यापारीहरुलाई अब भने कारबाहीको दायरामा ल्याउने सहायक प्रमुख जिल्ला अधिकारी अनुषा कोइरालाले बताए । ‘हामीले पनि अनुगमनका क्रममा मूल्य सूची नराखेको पाएका छौं’ सहायक प्रजिअ कोइरालाले भने ‘निर्देशन पालना नगर्ने व्यापारीहरुलाई अब कारबाहीको दायरामा ल्याउने सोँचीरहेका छौं ।’
चाड पर्व नजिकिदै गर्दा बजारमा किनमेल गर्नेहरुको चहलपहल बढेको छ । यो समयमा बजारका कुनैपनि पसलमा मूल्य सुची नहुँनु भनेको जुनसुकै बहानामा भएपनि उपभोक्ता ठगिनु जस्तै भएकोले उपभोक्ताहरु आफैमा पनि चनाखो बन्नुपर्ने उपभोक्ता अधिकारकर्मीको भनाई छ ।

228 total views, 1 views today