जन्मदिनमा अस्पताललाई मेसिन सहयोग

रोल्पा अनलाइन Wednesday, October 3, 2018


रोल्पा, असोज १७ । नेपाल तरुण दल रोल्पा क्षेत्र नं. २ का सभापति तिरजपति बुढाले जन्मदिनको अवसरमा आज जिल्ला अस्पताल रोल्पालाई एउटा नेबुलाइजर मेसिन प्रदान गर्नुभएको छ । पाण्डवेश्वरी यातायात प्रालिका रोल्पा इन्चार्ज समेत रहनुभएका बुढाले २९ वर्ष पार गरी ३०औं वर्षमा प्रवेश गरेको अवसरमा अस्पताललाई उक्त मेसिन हस्तान्तरण गर्नुभएको हो ।

मेसिन बुझ्दै अस्पतालका निमित्त प्रमुख डा. प्रकाश बहादुर बुढाले जन्म दिनको शुभकामना दिदै उदाहरणीय कार्यका लागि धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो । हाल अस्पतालमा ३ वटा मात्र नेबुलाइजर मेसिन रहेकोमा अब उक्त मेसिनको संख्या ४ पुगेको समेत डा. बुढाले जानकारी दिनुभयो ।


यस्तै कार्यक्रममा नेपाली काँग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीले अन्य युवाहरुले होटेलमा रक्सी खाएर जन्मदिन मनाउने गरेको भएता पनि बुढाले अस्पताललाई मेसिन सहयोग गरेर उमूनायोग्य काम गरेको बताउनुभयो । साथै उहाँले शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा योगदान पु¥याउदा ठूलो मानव सेवा हुने भन्दै एउटा युवाले यस्तो सोचाई राख्नु नै महान कार्य भएको उल्लेख गर्नुभयो ।
गत वर्ष पनि अस्पतालमा विरामीहरुलाई फलफूल वितरण गरेर जन्मोत्सव मनाउनुभएका बुढाले केहि समय अघि आफू अस्पताल भर्ना भएको बेला नेबुलाइजर मेसिन अभाव भएको देखेर अहिले जन्म दिनमा उक्त मेसिन सहयोग गरेको बताउनुभयो । विगत २६ वर्षदेखि स्वास्थ्य स्वयम् सेविकाको रुपमा सेवा गर्दै आउनुभएकी आमा देबु बुढाको प्रेरणाबाट आफूले पनि स्वास्थ्य क्षेत्रमै केहि योगदान गर्नुपर्छ भनेर मेसिन सहयोग गरेको उहाँको भनाई छ ।

साथै आगामी दिनमा पनि आफूले स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । मेसिन हस्तान्तरण कार्यक्रममा तरुण दल, नेपाल विद्यार्थी संघका नेताहरु, पत्रकार, जिल्ला अस्पतालका स्टाफहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघ रोल्पाका सचिव नारायण रेग्मीले गर्नुभएको थियो । साथै सोही अवसरमा अस्पताल परिसरमा रहेको बगैचाको सरसफाई समेत गरिएको थियो ।

1,422 total views, 1 views today