दुर्गमका विद्यालय, असहजतामा विद्यार्थी

दिनेश सुवेदी Friday, September 21, 2018

रोल्पा – रोल्पाका विद्यार्थीहरू आज पनि विद्यालय टाढा भएपछिको सास्ति भोग्दै छन्। दुर्गम पहाडी भु–भाग रहेको यहाँ लामो अनि उकाली ओराली बाटो पार गर्दै समयमै विद्यालय हातामा प्रवेश गर्नुपर्ने बाध्यता छ।

सहरमा जस्तो नजिक विद्यालय तथा स्कुल बसको सुबिधा नहुँदा लामो पैदल यात्राले कक्षा कोठामा नपुग्दै विद्यार्थीहरू थाक्ने गर्दछन। उनीहरू साँझ बिहानको घर धन्दा र हतारको विद्यालय तयारीले दिक्क छन्। घर नजिकमा मावि नहुनुको परिणाम साना उमेरका बालबालिकाले भोगिरहेका छन्।

संविधानमा प्रस्ट लेखिएको मौलिक हक मध्येको एउटा अधिकार शिक्षा पनि हो। तर यो विषयमा न केन्द्र सरकारले कहिले चासोे दियो न त अहिलेको स्थानीय सरकारले। ‘बिहान सबेरै उठेर अलि अलि घरको काम गर्नुपर्छ। कहिले त एकैछिन पनि किताब हेर्ने फुर्सद हुँदैन। बिहान साढे आठ बजे त खाना खाएर हिड्न सकिएन भने समयमा स्कुल पुगिदैन। कहिले त खाना पनि राम्रोसँग पाकेको हुँदैन, होमवर्क नसकिएको चिन्ता उत्तिकै हुन्छ।’ रुन्टीगढी सखीकी ९ कक्षामा पढ्ने छात्रा जुना घर्तीमगरले सुनाइन।

‘सधै उस्तै हो, बाटोमा पढ्दै हिन्नु पर्छ। सरले सोध्ने दिन त दिक्क हुन्छ। साँझ घर पुग्दा अध्यारो हुन थाल्छ। होमवर्क गर्नै पर्याे। अलि अलि घरमा काम पनि हुन्छ। कपाल कोर्ने, टाई बनाउने सधै बाटो मै हो। बिस्तारै गयो भने भ्याइदैन दौडिनु पर्छ। स्कुल जाने बाटो ओरालो छ त्यसैले जाँदा अलि सजिलो हुन्छ, फर्कदा त गाह्रो हुन्छ।’ रुन्टीगढी सखीकी कक्षा ९ मा पढ्ने अर्की छात्रा हिमा खत्रीले दुखेसो पोखिन्। बिहान साढे आठ बजे घरबाट हिँडेका उनीहरू ४ बजेसम्म स्कुल पढ्छन। घर पुग्दा करिब ६ बज्न लागेको हुन्छ। ‘आजकल त ठिकै छ, हिँउदमा झमक्कै राति हुन्छ। अध्यारोमा घर पुग्छौ। के गर्नु नजिक स्कुल छैन्। घर गयो खाना खाएर पढ्दा पढ्दै थकाइले निद्रा लाग्छ।’ अर्की छात्रा रमिता घर्तीमगर भन्छिन, ‘कहिले काही त कक्षा कोठामा पनि निद्रा लाग्छ।’

जनकल्याण मावि सर्पालमा अध्ययनरत विद्यालय भन्दा टाढा घर भएका यी छात्रा जस्ता रोल्पामा धेरै विद्यार्थी छन् जसलाई विद्यालय पुगेर घर फर्किन दैनिक करिब ३ देखि ४ घण्टा पैदल हिँड्नु पर्छ। कहिले आएपनि कक्षा कोठामा औपचारीकताका लागि मात्र जाने। उता कहिल्यै पनि शिक्षक प्रयाप्त नहुनुले झनै ठूलो समस्या थपेको छ। आठ कक्षा पढ्दा पुरै कोर्ष नसकिएर ९ कक्षामा पुगेका यी विद्यार्थीको यसपाली पनि कोर्ष सकिएला भन्नेमा स्वय् शिक्षक नै आशावादी छैनन्। ‘आफैले आफूलाई भनेजस्तो होला। पढाई त बरबाद छ। पढ्ने पढाउने सबै उस्तै।’ एक शिक्षकले भने, ‘शिक्षा सुधार गर्न कसैको चासो छैन्।’

जनकल्याण माविका प्रतिनिधि पात्र मध्ये केही छात्रा अलग समस्याका भेटिए। घर भन्दा अलि नजिक दहबनमा रहेको माविमा विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्न थाल्यो। विद्यालय संचालन गर्ने उपाए नभएपछि उसले चर्को शुल्क उठाउन थाल्यो अनि आर्थिक सहजताका लागि केहिले विद्यालय फेरे। ‘सातसम्म त दहबनमै पढे। फिस महङ्गो भयो अनि यता आए। म जस्तै फिस महङ्गो भएका कारण यहाँ पढ्न आउने अरु पनि छन्।’ कक्षा ८ मा पढ्दै गरेकी छात्रा गायत्री सुनारले भनिन, ‘उता आउदा जादा २ घण्टा लाग्थ्यो यता ३ घण्टा लाग्छ।’

घर भन्दा टाढा विद्यालय भएका कारण अभिभावक पनि चिन्तित छन्। ‘डेरा राखेर पढाउँदा खर्चले धान्न सकिदैन। साँझ घर आउदा भोक र थकाइले गलेर आउछन्। नपढाएर पनि भएन।’ एक अभिभावकले दुखेसो पोखे, ‘नेताले बाटो मात्र भन्छन्। हाम्रा छोराछोरीले पढ्न पाए पो हुन्थ्यो। बिचरा साना साना केटाकेटी स्कुल जाँदा सधै हिड्नुपर्ने त्यो पाजी बाटोको के काम।’ ४ सय ४० शैक्षिक संस्था रहेको जिल्लामा निजी र सरकारी गरी ६२ वटा मावि छन्। यहाँ रहेका धरै विद्यार्थी दैनिक लामो पैदल यात्रा गरेर विद्यालय पुग्ने गर्दछन्।

नागरिक न्यूजबाट

180 total views, 1 views today