बदेलले मकै सखाप पारेपछि कृषक हैरान

रोल्पा अनलाइन Thursday, September 20, 2018

रोल्पा, असोज ४ । भित्र्याउने अवस्थामा रहेको मकै बदेलले सखाप पारेपछि रोल्पाका कृषक हैरान भएका छन् ।
जिल्लाको विभिन्न स्थानमा पाक्नै लागेको मकै बदेलले खाइदिदा अब आफूहरुले के खाने भनेर कृषकहरु चिन्तित बनेका हुन् । जिल्लाको रोल्पा नगरपालिका–५ गोगनपानी, बाडचौर, मजुवा, जगतीपोखरा लगायतका गाउँमा बदेलले मकै सखाप पारेपछि किसानहरु अब के खाने भनेर चिन्तामा रहेको वडाध्यक्ष टोपबहादुर विकले बताउनुभयो । ‘किसानहरुले वडा कार्यालयमा गुनासो गर्ने गरेका छन्’ विकले भन्नुभयो । आफूले नगर कार्यपालिकामा पनि कुरा राखेको भएता पनि नगरपालिकामा पनि क्षतिपूर्तिका लागि कुनै कार्यक्रम नरहेकाले समस्या भएको उहाँको भनाई छ । थोरै भएपनि राहत दिन सकेमा कृषकहरुलाई केहि समस्या टार्न सहज हुने भन्दै वडा कार्यालयले त्यसको लागि पहल गर्ने योजना बनाइरहेको समेत वडाध्यक्ष विकले जनाउनुभयो । नयाँ बाली भित्र्याएर चाड पर्व मनाउने सोँचमा रहेका कृषकहरु बाली भित्र्याउनै नपाएपछि मर्कामा परेका हुन् । ‘दशैं, तिहार जस्ता महान पर्व आउदै छ’ स्थानीय कृषक रबीलाल घर्तीले भन्नुभयो ‘घरमा खाने अन्न नै छैन् बालबच्चालाई कसरी पाल्ने चिन्ता लागेको छ ।’ यस्तै अर्का कृषक गणेश वली पनि उस्तै चिन्तामा हुनुहुन्छ । वर्षभरी खाने अन्न कहाँबाट जुटाउने भन्ने चिन्ताले सताएको उहाँले बताउनुभयो ।
यस्तै जिल्लाको त्रिवेणी गाउँपालिका–१ करेटी, रुन्टीगढी गाउँपालिका–१ ओबाङ लगायतका विभिन्न स्थानमा बदेलले मकै सखाप पारेपछि स्थानीय हैरान भएका छन् ।

824 total views, 1 views today