रोहित हत्याको विरोधमा काँग्रेसद्धारा संसद बैठक अवरुद्ध

रोल्पा अनलाइन Thursday, September 13, 2018

रोल्पा, भदौं २८ । नेपाल तरुण दल रोल्पा नगर कार्यसमितिका अध्यक्ष रोहित पुनको गोली हानी हत्या गरेको र घटनामा संलग्न केहि व्यक्ति अझै पक्राउ पर्न नसकेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।

बिहीबार संसद बैठक सुरु भए लगतै सभामुखले समय दिएपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या घटना दिनानुदिन नाटकीय बन्दै गएको, रोल्पा नगर तरुण दलका अध्यक्ष पुनको हत्यामा संलग्नहरु केहि अझैं पक्राउ नपरेको, खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई हिरासतमा लिएको बारे सरकारले तत्काल जवाफ दिनुपर्ने माग गर्नुभयो ।
‘अनुसन्धानबाट वास्तविक दोषी पत्ता लगाउने भन्दा पनि राज्य संयन्त्र वास्तविकता ढाकछोप गर्न केन्द्रित रहेको देखिन थालेको छ’ सांसद बडुले भन्नुभयो ‘यो घटना राज्यसंरक्षित अपराधको स्वरुप लिइरहेको आभाष हुन थालेको छ ।’
काँग्रेसको अबरोधसँगै सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद वैठक स्थगित गर्नुभएको थियाे ।

1,195 total views, 2 views today