प्रदेशको नाम बुद्धभूमि, राजधानी दाङ प्रस्ताव हुने सम्भावना

रोल्पा अनलाइन Tuesday, September 4, 2018

बुटवल । प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामकरणका लागि गठित विशेष सुझाव सङ्कलन समिति कार्यविधि बनाउन जुटेको छ । ३ महीनाभित्र सुझाव बुझाउने समयसीमा पाएको समिति कार्यविधि बनाउन केन्द्रित भएको हो । गठन भएको ३ हप्तासम्म पनि कार्यविधि नबन्दा समितिका सदस्यहरू सुझावका लागि आ–आफ्नो जिल्ला पुग्न सकेका छैनन् ।

प्रदेशसभा दोस्रो अधिवेशनको अन्तिम बैठकले सुझाव समिति गठन गरेको थियो । समितिका सदस्य वीरबहादुर रानाले समिति कार्यविधि बनाउने तयारीमा रहेको बताउनुभयो । ‘समिति गठन भएपछि बल्ल एउटा बैठक बस्यौं,’ सदस्य रानाले भन्नुभयो, ‘कसरी सुझाव लिने, कस्तो कार्यविधि र मापदण्ड बनाउने भन्ने तयारीमा छौं । अबको बैठकबाट समितिको संयोजक तोकेर अगाडि बढ्छौं ।’

प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले समितिका सदस्यहरूलाई सुझाव सङ्कलन गर्दा जनता, नागरिक समाज, बुद्धजीवी र स्थानीय तहलगायत सुझाव लिँदा आफ्नो धारणा नराख्न निर्देशन दिनुभएको छ । समितिका सदस्य विष्णु पन्थीले समितिको कार्यविधि बनाउन ढिलाइ हुँदा सुझाव सङ्कलन गर्न जिल्लामा पुग्न केही ढिलाइ भएको बताउनुभयो । प्रदेशमा पर्ने तराईका ६ र पहाडका ६ जिल्लामध्ये रूकुम पूर्व र नवलपरासी पूर्वका बाहेक अन्य जिल्लाका सांसद पर्ने गरी समिति गठन गरिएको छ ।

समितिका सदस्य सहश्रराम यादवले एउटा मापदण्ड बनाएर सुझाव सङ्कलन गर्न सजिलो हुने देखिएपछि आफूहरू त्यसमा केन्द्रित भएको बताउनुभयो । समितिले प्रदेशका सबै स्थानीय तह (१०९) सँग पनि राजधानीका लागि कहाँ उपयुक्त हुन्छ भन्ने बारेमा पनि सुझाव लिने तयारी गरेको छ ।

प्रदेशको नाम बुद्धभूमि वा लुम्बिनीमध्ये एउटा राख्न सबै सहमत जस्तै छन् । तर, राजधानीका विषयमा केही सांसदहरू बुटवल नै प्रदेशको स्थायी राजधानी हुनुपर्नेमा अडिग देखिन्छन् भने मुख्यमन्त्रीसहितका केही मन्त्री र सांसदहरू दाङ हुनुपर्नेमा दृढ छन् । समितिले कार्यविधि बनाई सुझाव सङ्कलन गर्न ढिलाइ भए पनि मुख्यमन्त्री पोखरेलले २० वर्षपछि राजधानीका लागि नयाँ ठाउँ खोज्नुपर्ने अवस्था नआउने गरी राजधानी चयन गरिनुपर्ने बताउँदै आएका छन् । तर, उनी प्रदेशको नामकरण गर्न कुनै समस्या नभएको दाबी गर्छन् ।

समिति सुझाव ल्याए पनि प्रदेश नामकरण र स्थायी राजधानीको अन्तिम टुङ्गो भने प्रदेशसभाको दुई तिहाइ बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था छ । ८७ सांसद रहेको प्रदेश नम्बर ५ मा ६० (सभामुखबाहेक) सांसद नेकपाका मात्रै छ । काङ्ग्रेसका १९, सङ्घीय समाजवादी फोरमका ५, राष्ट्रिय जनमोर्चाका १ र राजपाका १ जना सांसद छन् ।

348 total views, 1 views today