१० वर्षमा पनि बनेन माडी पुल

रोल्पा अनलाइन Monday, August 6, 2018

रोल्पा । रोल्पाको सदरमुकाम लिबाङ र पश्चिम भेगका ६ वटा गाउँपालिका जोड्ने माडीखोलामा मोटरेबल पुल निर्माण कार्य सुरु भएको १० वर्षमा पनि बन्न सकेको छैन् ।


पुल निर्माणका लागि सडक डिभिजन कार्यालय प्यूठानले २०६५ सालमा टेन्डर आव्हान गरी लामा एण्ड धर्मेन्द्र जे.भी. कम्पनीलाई जिम्मा दिएको थियो । तर ठेकेदारको लापरवाहीका कारण पुल निर्माण कार्य अलपत्र बनेको हो । पुल निर्माण हुन नसकेपछि स्थानीयको माग अनुसार सडक डिभिजन कार्यालय प्यूठानले अस्थायी रुपमा बेलीब्रीजको जडान गरेको भएता पनि बेलीब्रीजले दिर्घकालिन काम नगर्ने भन्दै स्थानीयले तत्काल पक्कीपुल निर्माण कार्य सुरु गर्नुपर्ने माग गरेका छन् ।
गृह मन्त्रालयले सडक, पुल लगायतका योजना अलपत्र पार्ने निर्माण व्यवसायीको नाम पठाउँन निर्देशन गरेको भएता पनि जिल्ला प्रशासन कार्यालय रोल्पाले उक्त कम्पनीसँगको ठेक्का सम्झौता तोडी कालो सूचीमा राखिएको भन्दै नाम शिफारिश गरेको थिएन । ठेक्का सम्झौता तोडी अर्काे टेण्डर खोल्ने भनिएता पनि हालसम्म कुनै प्रक्रिया अघि बढ्न नसकेको भन्दै स्थानीयले भने तत्काल काम सुरु गर्नुपर्ने माग गरिरहेका छन् ।

705 total views, 1 views today