सरकारको जनविरोधी कार्य प्रति काँग्रेसको विरोध

रोल्पा अनलाइन Tuesday, July 31, 2018

रोल्पा, साउन १५ । प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले जनविरोधी र असंवैधानिक कार्य गर्न लागेको भन्दै नेपाली कांग्रेसले आज रोल्पा सदरमुम लिबाङमा विरोध प्रदर्शन गरेको छ । प्लेकार्ड, ब्यानर, झण्डा सहित कांग्रेसका नेता, कार्यकताले विभिन्न नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन् ।


विरोध सभालाई सम्बोधन गर्दै काँग्रेस रोल्पाका नेताहरुले सरकारले जनविरोधी निर्णय खारेज गर्नुपर्ने, सर्वसत्तावादी राज्यआतंक बन्द गर्नुपर्ने, महङ्गी नियन्त्रण गर्नुपर्ने, वृद्धभत्ताका लागि ६५ वर्ष कायम गर्नुपर्ने, असंवैधानिक क्रियाकलाप बन्द गर्नुपर्ने बताएका छन् । पूर्व सिंचाई राज्यमन्त्री एवम् नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले सरकारले अधिनायकवादी शैलीमा विधि प्रक्रियाबाट अघिल्लो सरकारले गरेको निर्णय उल्टाएको बताउनुभयो ।


यस्तै विरोध कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीले प्रधानमन्त्री ओलीले अधिनायकवादी शैली नसच्याए कांग्रेस भूमिगत भएर पनि लड्न सक्ने चेतावनी दिनुभयो । पूर्व सांसद् लेखनाथ आचार्य, काँग्रेस रोल्पाका पूर्व सभापति माधवप्रसाद आचार्य र नेपाल विद्यार्थी संघका अध्यक्ष शेरबहादुर थापाले सरकारले कानूनी राज्यको पूर्ण पालना गर्नुपर्ने बताउनुभयो ।

180 total views, 1 views today