डाक्टरले हप्काएपछि प्रशासनमा उजुरी

रोल्पा अनलाइन Thursday, July 5, 2018

प्यूठान, असार २१ । प्यूठान अस्पतालका निमित्त मेडिकल सपुरीटेन्डेन्ट डा. अच्यूतराज कार्कीले विरामीलाई चेकजाँच नगरी ‘हप्काएर’ पठाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । झिमरुक गाउँपालिका–५ ओखरकोट मच्छिकी जुना न्यौपानेले मंगलवार आफूलाई अभद्र व्यवहार गरेको गुनासो गरेकी हुन् ।


‘दुई घण्टा कुरेर डाक्टरलाई भेटन गएकी थिए’,न्यौपानेले भनिन्,‘मैले जाँच्दैन कसले पठाएर यहाँ आएको हो ? बाहिर जा ।’ जस्ता अभद्र व्यवहार आफूलाई गरेको उनले गुनासो गरिन् । डाक्टरलाई कारवाहीको माग गर्दै उनले प्रमुख जिल्ला अधिकारी समक्ष लिखित उजुरी दिएकी छिन् ।
एक हप्तादेखि कानबाट नियमित पिप आइरहेपछि उपचार गराउन अस्पताल पुगेको उनले बताइन । डाक्टरले ‘हप्काए’पछि चेकजाँच नै नगरी उनी प्रशासनमा उजुरी गर्न पुगेकी थिइन । ‘मुस्कानसहितको सेवा पाउने सुनेका थियौँ’,न्यौपानेले गुनासो गर्दै भनिन्,‘तर अस्पतालमा त्यस्तो व्यवहार भएन । उल्टै थर्काएर पठाइयो ।’
प्रशासनिक र चेकजाँच दुवै हेर्नुपर्ने भएकाले धेरै विरामी जाँच्न समय नमिलेकाले न्यौपानेलाई फर्काउनु परेको डा.कार्कीले प्रतिक्रिया दिएका छन् । ‘पहिल्य नै दुइजना विरामी कोठामा थिए’,डा.कार्कीले भने,‘कसले पठायो तपाइलाई ? भनेर सोँधेको मात्र हुँ ।’
जिल्ला अस्पतालमा विरामीलाई अभद्र व्यवहार गर्र्ने क्रम बढ्दै गएपछि यस विषयमा अस्पताल विकास समितिको तत्कालै बैठक बसेर छलफल गर्ने प्रमुख जिल्ला अधिकारी डा.कृष्ण बहादुर घिमिरेले बताएका छन् । अस्पतालले सेवाग्राहीमैत्री व्यवहार नगरेपछि पछिल्लो समय अस्पतालप्रति जनविश्वास गुम्दै जान थालेको समेत नागरीक समाजका अगुवाहरुले टिप्पणी गरेका छन् ।

15 total views, 1 views today