नेपाल मानवअधिकार वर्ष पुस्तकको पूर्व समीक्षा

रोल्पा अनलाइन Tuesday, June 26, 2018

रोल्पा, असार १२ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ को लागि रोल्पा जिल्लामा संकलित घटनाहरुको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सोमवार लिबाङमा सम्पन्न भएको छ ।

तस्वीर : पहलमान घर्ती

इन्सेकका साधारण सदस्य घनश्याम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि माधवकुमार ओलीले ६ महिनामा जिल्लामा भएका मानवअधिकारसँग सम्बन्धीत १५ वटा घटनाहरु समेतिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा सबैभन्दा बढी ९ वटा महिला अधिकारसँग सम्बन्धीत घरेलु हिंसा, महिला अधिकार सम्बन्धी २ वटा बलात्कार, १ वटा बहुविबाह, बाल अधिकार सम्बन्धी १ बाल हत्या र १ बाल विबाह सम्बन्धी घटना रहेका छन् । यस्तै १ वटा अपराध सम्बन्धी घटना पनि रहेको छ ।
कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, निमित्त प्रमुख जिल्ला अधिकारी चुडामणी गौतम, श्रेष्तेदार मानबहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त प्रमुख इन्स्पेक्टर सुदर्शन पन्थी, मानवअधिकारकर्मी खेम बुढा, प्राध्यापक तथा मेलमिलाप कर्ता विनोद आचार्य लगायत विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले प्रहरीमा आएको मात्र नभई गाउँ गाउँमा लुकाइएका र दबाइएका घटनाहरु पुस्तकमा समावेश हुनुपर्ने, जघन्य अपराधका घटनाहरु मिलापत्र भएका छन् भने त्यस्ता घटना पनि समावेश हुनुपर्ने, शिक्षा, स्वास्थ्य तथा मौलिक हक सम्बन्धी नागरिकको आवश्यकता परिपूर्ति नभएका घटनाहरु पनि समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।

139 total views, 1 views today