परियोजनाबाट सहयोग पाएका विद्यालयको अनुगमन

रोल्पा अनलाइन Thursday, June 21, 2018

रोल्पा, असार ७ । सेभ द चिल्ड्रको आर्थिक सहयोगमा मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले संचालन गर्दै आएको ‘हामी सिक्न सक्छौ’ परियोजनाबाट सहयोग पाएका केहि विद्यालयहरुको अनुगमन तथा अवलोकन गरिएको छ ।


मंगलवार र बुधवार गरी दुई दिन भएको अनुगमन कुन-कुन विद्यालयमा भयो त ?
पहिलो दिन (मंगलवार)ः—
रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसीले रोल्पा नगरपालिकाको सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा नै छुट्टाइएको भन्दै स्थानीय समुदाय र शिक्षकको सक्रियता मै विद्यालय राम्रो बन्ने बताउनुभएको छ । रोल्पा नगरपालिका वडा नं. ६ स्थित नेपाल मावि कोटगाउँ, नेपाल राष्ट्रिय आधारभूत विद्यालय दारबोट र शिक्षा किरण प्रावि रिम्सकमा सेभ द चिल्ड्रको आर्थिक सहयोगमा मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाले संचालन गर्दै आएको हामी सिक्न सक्छौ परियोजनाको स्थानीय जन प्रतिनिधि, विद्यालय श्रोत व्यक्ति, पत्रकार लगाएतको संयुक्त टोलीले अनुगमन गरेको छ । अनुगमनको क्रममा नगर प्रमुख केसीले विकासको एउटा सूचक शिक्षा भएकाले समुदायको जिवन स्तर मापनको लागि शिक्षाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । गत वर्ष कक्षा ८ को परीक्षा मात्र नगर स्तरीय भएकोमा यो वर्ष ५ र ८ कक्षाको परीक्षा नगर स्तरीय हुने जानकारी गराउनुभयो । यसैगरी रोल्पा नगपालिकाका विद्यालय श्रोत व्यक्ति राजेश धितालले शिक्षकहरुले पढाइ केन्द्रित भन्दा सीकाइ केन्द्रितमा ध्यान दिनुपर्ने बताउँदै बालबालिकाको सिकाईलाई निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । साथै उहाले बालबालिकालाई दबाव नदिइ नाचगान तथा खेलको माध्यमद्वारा सिकाउनुपर्नेमा जोड दिनुभयो । यस्तै अनुगमनको संयुक्त टोलीले अनुपस्थित हुने बालबालिकाको अभिभावकसँग छलफल गर्ने, नतिजाको विश्लेषण गरी आगामी दिनको योजना बनाएर अगाडी बढ्ने, प्रत्येक विषय शिक्षकहरुले वार्षिक कार्य योजना बनाएर शिक्षण गर्ने गराउनु पर्ने लगाएतको आवश्यक पृष्ठपोषण दिएका थिए ।
विद्यालयमा शिक्षक दरबन्दि न्यून रहेकाले सोचेको जस्तो गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको प्रधानअध्यापकहरुले बताएका छन् ।
विद्यालयमा आर्थिक सहयोगको लागि वडा तथा नगरमा माग गर्ने योजना रहेको समेत जानकारी गराएका थिए ।
उक्त टोलीले विद्यालयको अनुगमन पश्चात समीक्षा पनि गरेको छ । नगर प्रमुख केसीले अनुगमनको पाटो राम्रो हुने भएकाले समय समयमा यस्तो अनुगमन गरी शिक्षक तथा विद्यालयलाई आवश्यक पृष्ठपोषण दिने र समयैम सुधार हुने भएकाले यस्तो खाले अनुगमन वडाले पनि अनुसरण गर्नुपर्ने बताउनुभयो । रोल्पा न.पा. वडा नं. ६ का वडा अध्यक्ष तुल बहादुर घर्तीले गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि शिक्षकहरुलाई प्रोत्साहन गर्ने भन्दै नेपाल मा.वि. कोटगाउँमा आवासीय भवनको आवश्यक परेको हुदा त्यसको लागि पहल गर्ने बताउनुभयो । यसैगरी वडा नं. २ का वडा अध्यक्ष तथा नगर शिक्षा समितिका संयोजक खिम बहादुर घर्तीले विद्यार्थीहरु अनुपस्थिति हुनुको कारण पत्ता लगाई समस्या समाधान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार काशिराम डाँगीले नगरपालिकाभित्र प्रत्येक विद्यालयको आ आफ्नो समस्या भएको हुदा प्रत्येक विद्यालयले आफ्नो नीति बनाउनुपर्ने भन्दै अन्तर स्थानीय तहमा अनुभवी शिक्षकहरुले विद्यालयमा गएर अनुभव शेयर गर्दा राम्रो हुने बताउनुभयो । सेभ द चिल्ड्रेन रोल्पाका शिक्षा परियोजनाका जिल्ला संयोजक दिलकमल क्षेत्रीले विद्यालय बाहिर भएका बालबालिकालाई शिक्षाको पहुचमा पुर्याउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै विद्यालय बाहिर भएकाको जवाफदेही पनि स्थानीय सरकार नै हुने हुदा विद्यालय उमेरका हरेक बालबालिकालाई विद्यालय पुर्याउनुपर्नेमा जोड दिनुभयो । यसैगरी मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाका कार्यकारी निर्देशक राजु आचार्यले शिक्षकहरुले लिएको तालिम व्यवहारमा लागू गर्नु पर्नेमा जोड दिनुभयो । समिक्षा कार्यक्रमको संचालन हुरेक रोल्पाका कार्यक्रम संयोजक कृष्ण घर्तीले गर्नुभएको थियो ।

दोस्रो दिन (बुधवार) ः—

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढाले विद्यालयको स्रोत गाउँ र ठूलो कक्षाको स्रोत सानो कक्षा हुने भएकाले सानो कक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

रोल्पा नगरपालिका वडा ९ गर्पा स्थित पधेरा प्रावि रोल्पामा सेभ द चिल्ड्रको आर्थिक सहयोगमा मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाले संचालन गर्दै आएको हामी सिक्न सक्छौं परियोजना को जिल्ला समन्वय समिति, शिक्षा विकास समन्वय इकाई, गैसस महासंघ, विद्यालयका श्रोत व्यक्ति, पत्रकारको संयुक्त अनुगमन तथा अनुगमन पश्चातको समीक्षाको क्रममा प्रमुुख बुढाले यस्तो बताउनुभएको हो । प्रमुख बुढाले घरधुरीको आधारमा विद्यार्थीको संख्या धेरै हुनुपर्ने बताउनुभयो । विद्यार्थीको सिकाई उपलब्धी वृद्धिमा शिक्षक तथा विद्यालय मात्र नभई अभिभावकले पनि विद्यार्थीलाई समयमै विद्यालय पठाउनुपर्ने र घरमा पनि पढ्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयमा शैक्षिक सामाग्री पर्याप्त भएको भन्दै सिकाई क्रियाकलाप पनि आधुनिक भएको भनी प्रशंसा गर्नुभयो । साथै प्रमुख बुढाले विद्यालय सुधारको लागि आफू सधै सहयोग गर्न तयार रहेको बताउनुभयो । यस्तै विद्यालय श्रोत व्यक्ति राजेश धितालले शिक्षकहरु कक्षाकोठामा जादा अनिवार्य शैक्षिक सामाग्री लिएर जानुपर्नेमा जोड दिनुभयो । साथै उहाले शिक्षण सिकाई क्रियाकलापमका दैनिक क्रियाकलापको योजना बनाई कक्षा संचालन गर्नुपर्ने बताउनुभयो । यसैगरी श्रोत व्यक्ति लोक कुमार श्रेष्ठले सिकाई उपलब्धी, बसाई व्यवस्थापन लगाएत सबैमा सकारात्मक परिवर्तन भएको भन्दै बाल क्लबले आगामी बैठकमा बालबालिका तथा समाजको लागि हित हुने खालको योजना बनाउनमा शिक्षकहरुले प्रेरित गर्नुपर्ने बताउनुभयो । पत्रकार काशीराम डाँगीले विद्यार्थीको सिकाई उपलब्धीबारे अभिभावकलाई अभिभावक भेला अथवा घर दैलो कार्यक्रम गरी जानकारी गराउँदा राम्रो हुने बताउनुभयो । समिक्षा कार्यक्रममा अभिभावकले विद्यालय हाम्रो राम्रो तथा नमूना बनाउनको लागि आफूहरु लागि परको भन्दै विद्यालयलाई पूर्ण सरसफाई घोषणा गर्नको लागि योजना बनाईरहेको बताएका थिए । यसैगरी विद्यालयका प्रधानाध्यपक पूर्ण विक्रम घर्तीले ३ दिन सम्म कुनै जानकारी बिना लगातार अनुपस्थित हुने बालबालिकालाई रातो कार्ड पठाएको बताउनुभयो । साथै उहाले प्रत्येक महिनाको मसान्तमा बालबालिकमा व्यबहार परिवर्तनमा निरन्तर मूल्याङ्कन गरी समीक्षा गर्ने गरेको बताउनुभयो । यसैगरी प्रधानाध्यपक घर्तीले शैक्षिक गुणस्तर बृद्धिको लागि तथा तालिम पश्चात शैक्षिक सामाग्री निर्माण गर्न, शिक्षण सिकाई क्रियाकलाप लगाएतमा तालिमको महत्वपूर्ण भूमिका हुने भएकाले विषयगत शिक्षक शिक्षिका, प्रअ लाई तालिमको आयोजना गरिदिनको लागि शिक्षा विकास समन्वय इकाईलाई अनुरोध गर्नुभएको थियो । गएको शैक्षिक सत्रमा बाल विकासमा पढेका ४ जना बालबालिका नियमित विद्यालय नआएका कारणले कक्षा १ मा दोहोरिनुपरेकाले गर्दा सिकाई उपलब्धी पनि कम आएको हुनाले यस वर्षमा बालबालिकाहरु विद्यालय नियमिततामा विशेष ध्यान दिएको बताउनुभयो । सो विद्यालयको सिकाई उपलब्धी ५६ प्रतिशत रहेको छ ।
यसैगरी नेपाली विषयको ९० मिनेटको कक्षाले बालबालिकामा धेरै सुधार आएको बताइएको छ । हामी सिक्न सक्छौं परियोजना कार्यक्रमले नेपाल सरकारले तय गरेको मापदण्डमा रही ९० मिनेटको नेपाली विषयको कक्षा, कक्षा कोठाको व्यवस्थापन, बालबालिकाको सृजनात्मक कला तथा सिर्जनशिलतालाई प्रस्फुटन गर्नको लागि भित्ते पत्रिका प्रकाशन गर्ने लगाएतका बारेमा हुरेक रोल्पाका कार्यक्रम संयोजक कृष्ण घर्तीले जानकारी गराउनुभएको थियो ।

302 total views, 1 views today