अपांगता शिविरमा पौने ५ सयको जाँच

रोल्पा अनलाइन Wednesday, May 30, 2018

रोल्पा । अपांगता शिविरबाट रोल्पामा ४ सय ८३ जनाले सेवा लिएका छन् । रोल्पाका विभिन्न पाँच स्थानमा यही जेठ ५ देखि १० गतेसम्म अपांगताहरुको लागि परीक्षण तथा सहायक सामग्री वितरण शिविर संचालन सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति रोल्पा र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा सम्पूर्ण नगरपालिका तथा गाउँपालिकाहरुको सहयोग तथा व्यवस्थापन, सेभ द चिल्ड्रेन, मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पा, अपांग समाज कल्याण समाजको संयोजन र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल शारीरिक पुनःस्थापना केन्द्रको प्राविधिक सहयोगमा अपांगताहरुको लागि परीक्षण तथा सहायक सामग्री वितरण शिविर संचालन सम्पन्न भएको हो । शिविरमा ४ सय ८३ जना अपांगतासम्बन्धी समस्या भएका व्यक्तिको जाँच गरेकोमा १ सय ५३ जना शारीरिक अपांगता पहिचान भएको छ । ती मध्ये १ सय १७ जनाको कृत्रिम सहायक सामग्रीहरु राख्नुपर्ने पहिचान भएका छन् भने आधा भन्दा बढीको सहायक सामग्री वितरण गरिएको छ ।


नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल शारीरिक पुनःस्थापना केन्द्रकका टेक्निकल म्यानेजर हितेष न्यौपानेका अनुसार शारीरिक अपांगता सम्बन्धी १ सय ५३ जना, नाक, कान, घाँटीसम्बन्धी १ सय ५४ जना, आँखासम्बन्धी १ सय ५३ जना र २३ जनालाई बौद्धिक अपांगतासम्बन्धी समस्या रहेका व्यक्तिहरु शिविरमा परीक्षण गराएका थिए । शिविरमा विभिन्न समस्या भएका २ सय ७३ जना बालबालिकाहरुको जाँच भएको छ । शारीरिक अपांगता भई जीवन जिउनसमेत जोखिम रहेका व्यक्तिहरुले कृत्रिम सहायक सामग्री पाउँदा खुसी व्यक्ति गरेका छन् । ‘म अपांगता भएका कारण विद्यालय जान समेत समस्या भएको थियो अब मलाई सजिलो हुनेछ ।’ आफ्नो कृत्रिम खुट्टा पाएपछि परिवर्तन गाउँपालिका वडा नं. १ कुरेलीकी १२ वर्षीया मैती विकले राहत महशुस गरिन् । कक्षा ५ मा अध्ययनरत विकको आगोले पोलेर एउटा खुट्टा गुमाएकी थिइन् ।
अपांगता शिविरबाट माडी गाउँपालिका वडा नं. १ घर्तीगाउँकी ११ वर्षीया लिला परियारले गुमाएको खुट्टाको साटो कृत्रिम खुट्टा राखेपछि खुसी व्यक्त गरिन् । त्यस्तै माडी गाउँपालिका वडा नं. ५ भावाङका सञ्जीव बुढाले पनि कृत्रिम हात राख्न पाउदा राहतको महशुस गरेका छन् । ‘कृत्रिम खुट्टा भएपछि हिडडुल गर्न र सक्ने काम गर्न सजिलो भएको छ, आफ्नै ठाउँमा यस्ता सामग्री निःशुल्क पाउदा केही पीडा विर्सेकी छु ।’ खुसीका आँसु झार्दै युद्धका बेला लिस्नेको भिडन्तमा दायाँ खुट्टा गुमाएकी लुंग्री गाउँपालिका वडा नं. २ की दुरपति खड्काले धन्यवाद दिइन् । परिवर्तन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष बमबहादुर पुनले अपांगता भएका व्यक्तिहरुको शिविरको आयोजना गरेकोमा सबैलाई धन्यवाद दिए ।
अपांगता भएका व्यक्तिहरुको जीवन निर्वाह सहज बनाउन स्थानीय सरकारले समेत आगामी दिनमा ध्यान दिनुपर्ने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले सुझाव दिए । शिविरपछिको समीक्षा कार्यक्रममा उनले मुलुक संघीयता गएपछि स्थानीय स्तरमै अपांगता भएका बालबालिकाहरुले शिक्षा लिन पाउने अवसरको सिर्जना गर्नुपर्नेमा जोड दिए । रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पामा समेट्न नसकिएका अपांगता भएका व्यक्तिहरुको लागि आगामी दिनमा थप शिविरको आयोजना गर्न सहयोग गर्ने बताए ।
अपांगता सम्बन्धी शिविर रोल्पाको होलेरी प्राथमिक उपचार केन्द्रमा २०७५ जेठ ५ गते, बागमारा, इरिवाङमा जेठ ७ गते, खरिबोट स्वास्थयचौकि कुरेलीमा जेठ ८ गते, जिल्ला अस्पताल रेउघामा जेठ ९ गते र सुलिचौर प्राथमिक उपचार केन्द्रमा जेठ १० गते संचालन भएको थियो । गएको मंसिर २८ गते सम्पन्न अपांगता शिविरबाट परीक्षण गराएकोहरुको लागि फलोअप शिविर तथा सहायक सामग्री प्रदान र नयाँका लागि परीक्षण गरिएको मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाका अध्यक्ष घनश्याम आचार्यले बताए ।

192 total views, 1 views today