शैक्षिक सुधारका लागि १५ बुँदे प्रतिवद्धता

रोल्पा अनलाइन Wednesday, May 16, 2018

रोल्पा, जेठ २ । गाउँपालिकामा विद्यमान शैक्षिक समस्याहरुलाई न्यूनीकरण गर्न रोल्पाको त्रिवेणी गाउँपालिकाका शिक्षाका सरोकारवालाहरुले अभियान थालेका छन् । गाउँपालिकाका सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुले शैक्षिक सुधारका लागि १५ बुँदे प्रतिवद्धता स्वरुप कार्ययोजना बनाएका छन् ।


विद्यालयहरुमा सिकाइ कमजोर भएका बालबालिकाहरुलाई उपचारात्मक शिक्षण तथा सिकाइको व्यवस्था गर्ने, विद्यालयमा नियमितता सुनिश्चित गर्न सहभागितामूलक हाजिरी परीक्षण गर्ने, फ्लोअप कार्ड, घरदैलो कार्यक्रम, पुरस्कार सम्मान लगायत अवलम्बन गर्ने, विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने प्रधानाध्यापक र विद्यालय वयवस्थापन समितिका अध्यक्षहरुको योजना रहेका छन् ।
गाउँपालिकाका प्रमुख, शिक्षा स्रोत व्यक्तिहरुको समेत सहभागिता रहेको विद्यालय सुधार योजना निर्माण कार्यशालामा जनाएका प्रतिवद्धताहरुमा गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्न समतामूलक सिकाइ क्रियाकलाप संचालन गर्ने, जेठ मसान्तभित्र विद्यालय सुधार योजना गर्ने, विद्यालयमा बालक्लव गठन गरी अर्थपूर्ण बालसहभागिता बढाउने बुदाहरु रहेका छन् । तयस्तै विद्यालय व्यवस्थापन समिति र शिक्षक, अभिभावकहरुको बैठकमा अनिवार्य रुपमा विद्यार्थी, शिक्षक नियमितता र सिकाइ उपलब्धी बारेमा छलफल गरी कार्ययोजना बनाउने, आचारसंहिता निर्माण र पालना, पाठ्यक्रम अनुसार शिक्षण, कक्षा ३ सम्म बसाइ व्यवस्थापन, विपत् न्यूनीकरण योजना लगायतका प्रतिवद्धताहरु रहेका छन् ।
त्रिवेणी गाउँपालिकाका ४० ओटै विद्यालयका प्रअ तथा व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागितामा विद्यालय सुधार योजना निर्माण कार्यशाला मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले सेभ द चिल्ड्रेनको सहयोगमा संचालन गरेको हो । आधारभूत शिक्षा, बालसंरक्षण र जीविकोपार्जनका क्षेत्रमा त्रिवेणी गाउँपालिकाको समन्वय, सेभ द चिल्ड्रेनको सहयोगमा एकीकृत परियोजना संचालन गर्दै आएको भने वडा नं. २ मा हामी सिक्न सक्छौं परियोजना समेत संचालन भइरहेको छ ।

435 total views, 1 views today