सुशासन प्रबद्र्धनका लागि टोल फ्रि सेवा

रोल्पा अनलाइन Saturday, April 21, 2018

रोल्पा । त्रिवेणी गाउँपालिका रोल्पामा सुशासन प्रबद्र्धनका लागि पैसा नलाग्ने फोन (टोल फ्रि सेवा) स्थापना गरिएको छ । गाउँकार्यपालिकामा संचालन भएको सार्वजनिक सेवा र स्रोतका बारेमा जानकारी, सल्लाह, सुझाव र गुनासो सुन्न पैसा नलाग्ने फोन नं. (टोल फ्रि नं.) संचालनमा ल्याइएको हो ।


युएसएआईडि र एफएचआई ३६० को सहयोगमा मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) नेपाल रोल्पाबाट संचालित पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत गाउँपालिका र हरप्लेसको साझेदारीमा सो टोल फ्रि फोन हरप्लेसका जिल्ला अधिकृत ऋषिकेश डाँगीले गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीलाई हस्तान्तरण गराए लागत्तै अध्यक्ष वलीले सेवाग्राहीलाई फोन गरेर गाउँपालिकामा पैसा नलाग्ने फोन नं. (टोल फ्रि नं.) १६६०८६४४९६५ संचालनमा रहेको समेत जानकारी गराउनुभएको थियो । उहाँले गाउँपालिकामा पैसा नलाग्ने फोन नं. (टोल फ्रि नं.) राख्नमा सहयोग गर्ने हरप्लेस नेपाल रोल्पालाई धन्यवाद दिदै अवको गाउँपालिकामा पारदर्शिता, जवाफदेहिता, सहभागीता र विधिको शासन मार्फत समृद्धि र सुशासन निर्माण गर्नु हामी सबैको दायित्व भएको समेत बताउनुभयो । उहाँले यस क्षेत्रमा ल्याण्डलाइन टेलिफोन सेवा नभए पनि नमस्तेको पोष्टपेडबाट टोल फ्रि फोन संचालन गरेको समेत बताउनुभयो ।


गाउँपालिकामा सुशासन र जवाफदेहितालाई प्रभावकारी बनाउन मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) रोल्पाको आयोजनामा जुगारको नेर्पामा सम्पन्न स्थानीय तहका सरोकारवालावीच समन्वय बैठक तथा छलफलबाट त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीको संयोजकत्वमा सुशासन प्रवद्र्धन समिति पनि गठन गरिएको छ । जसको सदस्यहरुमा उपाध्यक्ष सावित्रा कुमारी बुढा (घर्ती), सार्वजनिक लेखा समिति संयोजक टीकाराम वली, हरिकला पुन, अमृता भण्डारी, वडा अध्यक्षहरुबाट १ नं. वडा अध्यक्ष देउराम घर्तीमगर, ५ नं. वडा अध्यक्ष कृष्णबहादुर केसी, दलित महिला कार्यपालिकाबाट सदस्य सुवर्दी वि.क. सामाजिक समिति संयोजकबाट कविराज बुढा, उद्योग तथा बजार व्यवस्थापन समितिबाट रामप्रसाद राना, नागरिक समाज संस्थाबाट जनसेवा केन्द्र नेपालका अध्यक्ष डम्बर पुन, स्थानीय महिला तथा आमा समूहबाट शान्ता केसी रहने गरी सो समिति गठन गरिएको हो ।
गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको अध्यक्षतामा बसेको सम्पन्न समन्वय बैठकले त्रिवेणी गाउँपालिकाका ७ वटा वडा मध्य पारस्परिक जवाफदेहिता परियोजना लागु नभएका अन्य ५ वटा वडाहरुले पनि साझा सभा गठन गर्नलाई गाउँपालिकाले पहल गर्ने, गाउँपालिकाको कार्र्यालय र यहाँका सात वटै वडाले सार्वजनिक सुनुवाई रेडियो कार्यक्रम मार्फत गर्न २०७५ बैशाखबाट शुरु गर्ने, गाउँकार्यपालिकामा संचालन भएको सार्वजनिक सेवा र स्रोतका बारेमा जानकारी, सल्लाह, सुझाव र गुनासो सुन्न पैसा नलाग्ने फोन नं. (टोल फ्रि नं.) गाउँपालिकाका सुचना अधिकारीको मातहातमा रहने समेत निर्णय गरिएको छ ।

सम्पन्न समन्वय तथा छलफल बैठकमा गाउँपालिका अध्यक्ष वलीले गाउँपालिकाको मिति २०७४ चैत्र २७ गते बसेको गाउँसभाले त्रिवेणी गाउँपालिकाको न्यायीक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७४, गाउँपालिकाको कृषि व्यवसाय प्रबद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४, गाउँपालिकाको शिक्षा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४, गाउँपालिकाको स्थानीय स्वास्थ्य तथा सरसफाई सम्बन्धी ऐनको मस्यौदा २०७४, गाउँपालिकाको पूर्वाधार व्यवस्थापन सम्बन्धी ऐनको मस्यौदा २०७४, गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानूनको मस्यौदा २०७४, गाउँपालिकाको सहकारी ऐन मस्यौदा २०७४ लगायतका विभिन्न ऐन तथा मस्यौदाहरु गाउँसभाबाट पारित गरेको समेत जानकारी गराउनु भएको थियो ।
समन्वय बैठकमा त्रिवेणी गाउँपालिकाका अध्यक्षका साथै गैरीगाउँ, नुवागाउँ, करेटी, बुढागाउँ सिम्पानी, लिङदुङ, जुगारका वडा अध्यक्ष तथा सदस्य स्वास्थ्य, शिक्षा, कृषि कार्यालयका संयोजक तथा प्रतिनिधि, स्थानीय बजार प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

232 total views, 1 views today