लिबाङमा खानेपानीको समस्या हट्दै

रोल्पा अनलाइन Monday, March 12, 2018

रोल्पा, फागुन २८ । खानेपानीको अभावका कारण समस्या झेल्दै आइरहेका रोल्पा सदरमुकाम लिबाङबासीले अब भने प्रशस्तै मात्रामा सुद्ध खानेपानीको प्रयोग गर्न पाउने भएका छन् ।


लिबाङमा एशियाली विकास बैंक (एडीबि)को सहयोगमा तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाले उक्त समस्या हटाउने भएपछि सदरमुकाम लिबाङवासी हर्षित भएका छन् । आगामी ३ वर्षभित्र निर्माण सम्पन्न हुने आयोजनाको लागत ३८ करोड भन्दाबढी रहेको जनाइएको छ । आयोजनाबाट जिल्लाको सदरमुकाम लिबाङ बजारमा पर्ने रोल्पा नगरपालिका वडा नं. १, २ र ४ का १४ सय घरमा सुरक्षित खानेपानीको धारा जडान हुने भएको छ । प्रारम्भिक सर्वे डिजाइन अनुसार अबको ५० वर्षसम्म लिबाङबासीले सुरक्षित खानेपानीको प्रयोग गर्न सक्ने गरी आयोजना सञ्चालन हुने उक्त आयोजनाको व्यवस्थापन गरिरहेको लिवाङ बजार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लीलाधर आचार्यले बताउनुभयो ।
खानेपानी आयोजनाका लागि ६ वटा मुहानको सर्भ गरिएको छ । उचित व्यवस्थापन नहुँदा सदरमुकाम लिबाङमा छरपस्त रहेका खानेपानीका पाइप अब भने व्यवस्थित गरिने भएको छ । सुरक्षित खानेपानी उपभोग गर्न पाउनुपर्ने अधिकारबाट समेत बञ्चित हुदैं आएका यहाँका नागरिकले अबभने शुद्धीकरण गरिएको सुरक्षित खानेपानीको उपभोग गर्नपाउने भएका छन् ।

193 total views, 1 views today