महिला दिवसमा अन्तरक्रिया

रोल्पा अनलाइन Thursday, March 8, 2018

रोल्पा, फागुन २४ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) र नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीले आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर संयुक्त रुपमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
‘प्राप्त उपलब्धिहरुलाई रक्षा गरौँ, समानताको लागि अघि बढौँ, १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपले सफल पारौं’ भन्ने नाराका साथ राजनीतिमा महिला सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम एमाले पार्टी कार्यालयमा भएको हो । अनेमसंघ रोल्पाकी अध्यक्ष ईश्वरी जी.एम.को अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा एमाले नेतृ मिना बुढामगरको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै विशिष्ट अतिथिमा प्रदेशसभा सांसद तथा माओवादी नेता दिपेन्द्र पुन ‘सिजल’ रहनुभएको थियो । नेकपा एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्ती, नेकपा माओवादी केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापाघर्ती लगायत अन्य पार्टीका नेता तथा सरोकारवालाहरुले सहभागिता रहेको थियो ।
पार्टी एकताको प्रक्रिया चलिरहेको बेला जिल्लाका २ पार्टीका महिला संगठनहरुले पनि एकताको सन्देश दिन खोजेको बताइएको थियो ।

127 total views, 4 views today