चालकहरुको आँखा चेकजाँच

रोल्पा अनलाइन Thursday, March 8, 2018

रोल्पा, फागुन २४ । गाडी चालकको दृष्टि दोषका कारण हुने दुर्घटना न्यूनिकरण गर्न बुधवार रोल्पाका गाडी चालकहरुको आँखा परिक्षण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पा र जिल्ला ट्राफिक कार्यालय रोल्पाको आयोजना तथा जिल्ला सामुदायकि आँखा केन्द्रको प्राविधिक सहयोगमा गाडी चालकहरुका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । कतिपय सवारी दुर्घटनाहरु रातको समयमा आँखा नदेख्ने रोग लागेका चालकहरुको दृष्टि दोषका कारणले हुने गरेकाले निःशुल्क आँखा शिविरको आयोजना गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र प्रसाद फँुयालले जानकारी दिनुभयो । शिविरमा जिल्लामा सञ्चालित साना तथा ठूला सवारी साधनका करिब ४० जना चालकहरुको आँखा परिक्षण गरिएको छ । आँखा परिक्षण गरिएका चालकहरु मध्ये धेरैजसोले चस्मा प्रयोग गर्नुपर्ने देखिएको जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाकी इन्चार्ज रेनुका चौधरीले बताउनुभयो । जिल्लामा सवारी चालकहरुलाई विभिन्न समयमा प्रशिक्षण दिने गरिएको भएता पनि निःशुल्क रुपमा आँखा शिविर सञ्चालन गरिएको भने पहिलो पटक रहेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको भनाई छ । जिल्ला पहिलो पटक नौलो कामको लागि सहयोग गर्ने सबै निकायलाई उहाँले धन्यवाद दिनुभएको थियो । नेपाल रेडक्रस सोशाइटी रोल्पा शाखाद्धारा सञ्चालित सामुदायिक आँखा केन्द्रले यस्तो अवसर पाएकोमा आफू खुःसी भएको रेडक्रस रोल्पाका सभापति नौलसिंह पुनले बताउनुभयो । गाडी चालकहरु मात्र नभई सबैका लागि आँखा समय समयमा परिक्षण गर्न आवश्यक भएता पनि चालकहरुलाई अझ धेरै आवश्यक रहेको उहाँको भनाई छ ।

100 total views, 1 views today