नगदमा फस्टाएको आरन

माधवकुमार ओली Tuesday, February 6, 2018

रोल्पा, माघ २३ । कुनैबेला दलित समुदायहरुले बालीघरे प्रथाको रुपमा वर्षभरी कृषि औजार बनाउने आरन पेशा गरी अन्नबाली लिने गर्दथे । तर रोल्पाका एक दलित युवाले भने खलोप्रथालाई गाउँबाट हटाउने मात्र होइन आरन पेशालाई आधुनिकिकरण गरी उद्योगको रुपमा बिस्तार गरेका छन् ।


रोल्पा नगरपालिका–७ कोर्चाबाङका युवा सार्के विकले बाउँबाजेहरुले गर्दै आइरहेको आरन पेशालाई अहिले उद्योगको रुपमा खोलेका हुन् । करिब ३ लाख रुपैयाँको लगानीमा ३ वर्षअघि माडीचौरमा स्थापना गरिएको उनको कृषि औजार उद्योग अहिले जिल्लाकै नमूना बनेको छ । बाउँ, बाजेले खलोप्रथामा आरन व्यवसाय गर्दा वर्षभरी खान नपुग्ने भएपछि रोजगारीका लागि केहि वर्ष काठमाण्डौंको ईटाभट्टामा र भारतमा समेत मजदुरी गरेका विकले अहिले उद्योगबाट घर खर्च चलाएर करिब २० देखी ३५ हजारसम्म मासिक रुपमा आम्दानी हुन थालेको बताउछन् । ‘सुरुमा त नगदमा काम गराउन मान्छेहरु आएनन्’ विकले आफ्नो अनुभव सुनाउदैं भने थोरै अन्नमा काम गराएकाहरुले नगद दिन अप्ठेरो मान्थे । तर अहिले भने नगद दिएर मात्र काम गराउने गरेको विकले बताए ।
घरेलु तथा साना उद्योग विकास समिति रोल्पाबाट तालिम लिई व्यवसाय सुरु गर्नका लागि केहि औजारहरु अनुदानमा पाएपछि उनले उद्योग नै दर्ता गरी व्यवसाय गरेका हुन् । अहिले विकको कृषि औजार निर्माण उद्योगमा दुई सयदेखि १० हजारसम्मका कुटो, कोदालो, फरुवा, बन्चरो, हँसिया, खुकुरी, खुर्पा लगायतका औजारहरु निर्माण गरिन्छ । उद्योग फस्टाउदैं र्गपछि गाउँमै स्वरोजगार बन्न सकिने रहेछ भन्ने आत्म विश्वास बढेको विकले बताए । अहिले जिल्लाका अधिकांश ठाउँबाट आफ्नो उद्योगमा औजार बनाउन माग आइरहेकोले उनलाई काम गर्न भ्याईनभ्याई । उसो त उनले उद्योगमा गाउँकै दुई जनालाई उनले रोजगारी दिएका छन् । कसैबाट अनुदान पाए थप उपकरण भित्राउने विकको सोँच रहेको छ ।

113 total views, 1 views today