बेमौसमी तरकारी खेतीमा आकर्षण

रोल्पा अनलाइन Monday, January 8, 2018

रोल्पा, पुस २४ । रोल्पामा पछिल्लो केहि वर्षयता बेमौसमी तरकारी खेतीतर्फ किसानहरु आकर्षिक हुन थालेका छन् । तरकारी खेतीबाट घरमै बसी बसी राम्रो आम्दानी लिन सकिने भएपछि युवा, युवतीहरुपनि तरकारी खेतीतर्फ आकर्षित बनेका हुन् ।

विभिन्न निकायको सहयोगमा गाउँ गाउँमा सिंचाई सुविधा पुग्नुका साथै तरकारी खरिदको लागि व्यापारीहरु गाडी लिएर गाउँघरमै आउन थालेपछि किसानहरु तरकारी खेतीमा लागेका हुन । तरकारी खेतीबाट वार्षिक रुपमा १ लाखदेखि ३ लाख सम्म आम्दानी हुने गरेको किसानहरुको भनाई छ ।
रोल्पा जिल्लाका रुन्टीगढी र त्रिवेणी गाउँपालिकाका केही वडाहरु तरकारी खेतीको लागि पकेट क्षेत्रको रुपमा रहेका छन् । रोल्पा जिल्लामा किसानहरुले धेरैजसो टमाटर, खुर्सानी, काउली, बन्दा, भेडेखुर्सानी, आलु लगायतका तरकारी बाली लगाउने गरेका छन् । व्यावसायिक तरकारी खेतीमा लाग्ने किसानहरुलाई सरकारले थोपा सिंचाई, प्लाष्टिक घर, युवा लक्षित कार्यक्रम जस्ता अनुदान दिनुका साथै बाली बिमा कार्यक्रम सञ्चालन गरेकाले किसानहरु तरकारी खेतीमा थप आकर्षित बनेको जिल्ला कृषि विकास कार्यालय रोल्पाका बागबानी विकास अधिकृत हरिप्रसाद पाण्डेले बताउनुभयो । चालु आर्थिक वर्षमा मात्रै रोल्पा जिल्लामा ६ हजार ६ सय मेट्रीक टन तरकारी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय रोल्पाले जनाएको छ । जसमध्ये ३ हजार १ सय मेट्रीक टन तरकारी जिल्ला बाहिर नि¥यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कृषि प्रधान देशमा वर्षेनी बढ्दै गइरहेको परनिर्भरतालाई हटाउन युवाहरुलाई कृषिमा आकर्षित गर्ने हो भने बाहिरबाट तरकारी आयात कमगर्न सकिने बागबानी अधिकृत पाण्डेको भनाई छ ।

166 total views, 1 views today